किन निश्चलको ‘दिमाग खराब’को टिजरलाई अपेक्षित प्रतिक्रिया मिलेन ?

निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका फिल्म भन्ने वित्तिकै दर्शकमा एक प्रकारको आकर्षण हुन्छ । ‘लूट’ जस्तो फिल्म बनाएर उनले नेपाली फिल्मको ट्रेन्ड नै फेरिदिएका थिए । ‘टलक जंग भर्सेस टुल्के’को कथाले दर्शकको दिमाग हल्लाएको थियो । तर, उनले नै निर्देशन गरेको फिल्म ‘लूट २’ले अपेक्षित प्रतिक्रिया पाएन । यसपछि केही बर्ष ब्रेक लिएका निर्देशक बस्नेत दर्शकमाझ नयाँ फिल्म ‘दिमाग खराब’ लिएर आउँदैछन् । 

यसपटक पनि निश्चलले फिल्ममार्फत नेपाली फिल्ममा नयाँ कथा भन्छन् भन्ने आशा सबैमा थियो । विगत केही बर्षदेखि देखिदै आएका कथाबाट उनी मुक्त हुन्छन् र नयाँ कथा भन्छन् भन्ने सोच दर्शकमा आउनु स्वभाविक पनि हो । 

तर, यो फिल्मको टिजर सार्वजनिक भएपछि भने दर्शकको आशा कमजोर बन्यो । निश्चलले अन्य निर्देशकले भने जस्तै राजनीतिको कथालाई नै भन्ने कोशिश गरेका छन् । सत्ता र जनताविचको संघर्षको कथा उनले भनेका छन् । यस्ता कथाहरु विगत केही बर्षदेखि नेपाली फिल्ममा भनिदै आएको छ । 

यो फिल्मको टिजरलाई अपेक्षित प्रतिक्रिया मिलेको छैन । सार्वजनिक भएको ३ दिनमा फिल्मको टिजरले डेढ लाख भ्यूज पनि पाएको छैन । अर्पण थापा, दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का जस्ता कलाकार फिल्ममा छन् । 

निश्चलले यसपटक फिल्ममा सत्ता र जनताविच कसरी राजनीतिमा टकराव हुन्छ भन्ने देखाउन खोजेका छन् । यसैले, अब फिल्मको ट्रेलर र गीतसंगीत बलियो आउनुपर्ने हुन्छ । निश्चल बस्नेतबाट दर्शकले जस्तो फिल्मको अपेक्षा गरेका छन्, त्यो पाउँछन् या पाउँदैनन् त्यो भने कात्तिक २४ गतेबाट नै थाहा हुनेछ ।