मेरोफिल्म समाचार प्रभाव- जवानबाट हटाइयो नेपालसँग सम्बन्धित विवादित दृश्य
गत बिहीबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘जवान’बाट नेपालसँग सम्बन्धित विवादित दृश्य हटाइएको छ । फिल्मको एक दृश्यमा देखाइएको एनिमेटेड तस्विरमा नेपालको पुरानो भौगोलिक संरचनालाई मात्र देखाइएपछि मेरोफिल्मले यो विषयमा समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारका कारण फिल्मको विरोध भएपछि सेन्सर बोर्डले आफ्नो गल्ती स्वीकार गर्दै फिल्मबाट उक्त दृश्य हटाउन लगाएको थियो । मेरोफिल्मको टिमले शनिबार उक्त फिल्म हेर्न जाँदा फिल्ममा त्यो दृश्यसँगै रहेको एक संवाद पनि हटाइएको पाइयो ।
फिल्मका नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका नकिम उद्दिनले फिल्मबाट उक्त दृश्य हटाइएको पुष्टि गरे । ‘तपाईंहरुकै समाचार हेरेपछि रातारात सेन्सरले आफ्नो गल्ती सच्याउन लागि हटाइएको हो’, उनले भने ।
यस्तै चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले पत्रकारहरुले सेन्सरको गल्ती देखाइदिएपछि बोर्डले तत्कालै वितरक कम्पनीलाई बोलाएर गल्तीको बारे जानकारी दिँदै हटाउन ताकेता गर्दा बिहीबार रिलिज भए पनि शुक्रबार बिहानैबाट उक्त दृश्य हटाइएको बताए । ‘नेपालभरका हलमा यो दृश्य हटिसकेको छ । कतै हटेको छैन भने विकास बोर्डको अनुगमन समितिले अनुगमन गरेर कारवाही गर्नेछौं’, उनले भने ।
यसअघि फिल्मको दृश्य अनुसार फिल्मका भिलेन विजय सेतुपातीले विदेशी लगानी भित्र्याउनका लागि उपर्युक्त स्थान भारत हो भनेर व्याख्या गर्छन् । दृश्यमा नेपालले दाबी गरेर नेपालको नक्सामा थपिएको भौगोलिक क्षेत्रलाई भने भारतको भनेर देखाइएको थियो ।
नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा २०७७ जेठ ७ गते सार्वजनिक गरेको सर्वविदितै छ ।
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरिसक्दा पनि ‘जवान’मा भने पुरानै नक्सा देखाइएपछि सेन्सर बोर्डमाथि प्रश्न उठेको थियो ।
सेन्सर हुँदा सूचना तथा सञ्चार मन्त्रालयका सह–सचिव अध्यक्ष रहन्छन् । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयकै सदस्य सचिव, गृह मन्त्रालयको प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र चलचित्र विकास बोर्डको प्रतिनिधि रहने व्यवस्था छ ।
प्रतिक्रिया