‘एक भागवत् गीता’ टिमलाई दीपकको साथ
चलचित्र विकास बोर्डले सेन्सरका लागि सिफारिश दिन नमानेपछि भदौ २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘एक भागवत् गीता’ विवादमा परेको छ । केही धार्मिक संगठनहरुले फिल्मको नामलाई लिएर विवाद झिकेका छन् । उनीहरुले फिल्मको कथावस्तुमा कुनै समस्या नभएको तर नाम ‘भगवत् गीता’ राख्न नपाइने भन्दै निर्माणपक्षलाई चेतावनी दिइरहेका छन् ।
यो समयमा चलचित्र विकास बोर्ड मुखदर्शक बन्न बाहेक केही पनि काम गर्न सकेको छैन । फिल्मीकर्मीहरुले भने फिल्मको पक्षमा आवाज उठाइरहेका छन् ।
यसैबिच, कलाकार दीपकराज गिरीले सामाजिक संजालमा लेखेका छन्–‘उहाँहर भगवान् श्रीकृष्णको धेरै भक्ति गर्नुहुन्छ । उहाँहरुले बनाएको फिल्म सेन्सरको चपेटामा परेको छ । स्वयंम एक भक्तले बनाएको फिल्ममा, धर्मको खिल्ली उडाए भनेर कसरी पत्याउनु ? यदि नामकै कारण मात्रै हो भने फिल्म रोक्नु जायज होला र ? हाम्रो उद्योगमा एकता अभाव छ । अरुको बारेमा किन बोल्ने ? किन टाउको दुखाउने ? बलिउडमा एउटा फिल्म ब्लकबस्टर हुँदा पुरा उद्योग खुशी मनाउँछ । यहाँ कुनै फिल्म ब्लकबस्टर भयो भने पुरा उद्योग शोकमा डुब्छ । अन्याय विरुद्ध बोल्दा गाली खाइएला । तर, बोल्न नछाडौं । संघ संस्था राजनीति गर्ने मञ्च र अधिकार बिहिन विकास बोर्ड जागिर खाने थलो मात्र नहोस् ।’
दीपकले फिल्मको रिलिज रोक्न नहुने भन्दै केही गर्न सबैसँग आग्रह गरेका छन् ।
भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्मको रिलिजमा समस्या आएपनि फिल्म क्षेत्रका विभिन्न संघसंस्था भने मौन छन् । स्वयंम फिल्मका निर्माता सुनिल कुमार थापा महासचिव रहेको चलचित्र निर्माता संघले समेत अहिलेसम्म केही बोल्न सकेको छैन ।
प्रतिक्रिया