बिन्ती गर्दै रोए निर्माता, टुलुटुलु हेरिरहे भुवन केसी

चलचित्र विकास बोर्डमा बिहान ११ बजे सेन्सरका लागि अनुमति लिन पुगेका फिल्म ‘एक भागवत् गीता’का निर्माता सुनिलकुमार थापा दिनभर छटपटीमा देखिए ।

दिउँसो २ बजे मेरो फिल्मको टिम विकास बोर्ड पुग्दा निर्माता थापा र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यही विषयमा कुरा गर्दै थिए । 

सँगै रहेकी नायिका सुहाना थापा निकै निराश देखिइन् । यसपछि, एक मिडियामा अन्तरवार्ता दिने भन्दै उनी बोर्डबाट बाहिरिइन् । 

निर्माता थापालाई आफूले फिल्म बनाएर ठूलै कसुर गरेछु भन्ने आभाष भइरहेको थियो । उनलाई, आफूले के गल्ती गरेको हुँ भन्ने समेत थाहा थिएन । उनी बारम्बार विकास बोर्डका अध्यक्षसँग एउटै प्रश्न गर्थे–‘के फिल्म बनाउनु मेरो गल्ती हो ।’

बोर्ड अध्यक्ष भुवन केसीसँग जवाफ थिएन । उनी कसका कारण अनिर्णयको बन्दी बनेका थिए, यो उनले नै जान्ने कुरा भयो । तर, विकास बोर्ड अध्यक्षले सही कदम चाल्न नसकेको देखेर निराश बनेका निर्माता थापा हल बाहिर निस्किएर आँखा भरी आँसु झार्दै रोएँ ।

आफूले साढे ३ करोडमा बनाएको फिल्म विना कारण, रोकिएपछि सुनिलका आँखा भरी आँसु थिएँ । अध्यक्ष भुवन केसी न उनलाई फकाउन सक्थे, न सम्झाउन नै । 

भुवनले भोली बेलुकी ४ बजे विकास बोर्डको बैठक बोलाएको र सोही बैठकमा निर्णय गर्ने आश्वासन सुनिललाई दिए । यसपछि, सुनिल कड्किए–‘तपाई त नाम मात्रको अध्यक्ष रहेछ । यसअघि राजकुमार राई, दयाराम दाहालले बलियो निर्णय गर्थे । उनीहरूको अगाडि तपाइको लिडरसिप नै निरिह देखियो ।’

बोर्ड अध्यक्ष केसी भने सबैको कुरा सुन्नुपर्ने र मिलाएर लैजानुपर्ने भन्दै सुनिललाई आश्वस्त पारिरहेका थिए । तर, सुनिल आश्वस्त भएनन् । 

यसपछि, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिको विकास बोर्डको हलमा प्रवेश भयो । सुनिल उनीहरूको अगाडि नमस्कार गर्दै बिन्ती गरिरहेका थिए । लाग्थ्यो, फिल्म बनाएर उनले ठूलो गल्ती गरेका छन् र कुनै कठघरामा उभिएर आफ्नो बचाउन गरिरहेका छन् । साँच्चै, यो विरक्त लाग्दो दृश्य हेर्दा यस्तो लाग्थ्यो, एउटा निर्माताले फिल्म किन बनाउँछ ?

सुनिलको बारम्बारको आग्रहलाई पनि विरोध गर्नेहरुले मानेनन् । सुनिलको आग्रहलाई न त विकास बोर्डले सुन्यो, न त विरोध गर्ने विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिले । एउटा निरीह निर्माताको पीडा सुनिदिने अभिभावक त्यहाँ कोही भएनन् । 

चलचित्र विकास बोर्डको परिसरमा स्वकीय सचिवका कारण फिल्मको सेन्सर सिफारिस विकास बोर्डले दिन नसकेको हल्ला चल्यो । सो समयमा स्वकीय सचिव बोर्डमा उपस्थित थिएनन् । 

विकास बोर्डमा दिनभर बसेर निरीह भएपछि पत्रकारसँग कुरा गर्दै  सुनिल भक्कानिए । उनले, बरु आफ्नो परिवार नै अमेरिकामा बसेको भए हुने रहेछ, फिल्म बनाएर गल्ती गरेछु जस्तो महशुश भएको भन्दै पीडा पोखे । तर, उनको पीडा उनकै मनमा छ । फिल्म रिलिज हुन एक साता बाँकी छैन । निर्माता भने विन्ती गर्दै कहिले यता कहिले  उता भौतारिरहेका छन् । 

मुटुको रोगी समेत रहेका निर्माता सुनिलको पीडा र उनको समस्या बुझिदिने कसले ? फिल्मको नाम ‘एक भगवत् गीता’ राखेर उनले गरेको गल्ती के हो ? यसको जवाफ विरोध गर्नेहरूसँग त होला । तर, सरकार र विकास बोर्डसँग छैन ।