‘परदेशी २’ र पशुपति प्रसाद २’ टिमबिच एकसाथ फिल्म रिलिज नगर्ने सहमति


कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले अब सोलो रिलिजको अवसर पाएको छ । यही मितिमा रिलिज हुन लागेको फिल्म ‘परदेशी २’ एक साता प्रिपोन्ड भएपछि दीपेन्द्र के खनाल निर्देशित प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २’ले सोलो रिलिजको अवसर पाएको हो । 

दुई फिल्मका निर्माताविच चौथो पटक छलफल भएपछि एकसाथ फिल्म रिलिज नगर्ने सहमति भएको हो । जसअनुसार अब, फिल्म ‘परदेशी २’ असोजको २६ गतेबाट रिलिज हुनेछ । यस्तै, ‘पशुपति प्रसाद २ः भष्मे डन’ भने कार्तिक ४ गते नै रिलिज हुनेछ । 

‘जुधेर होइन, जुटेर सफलता हात पार्न सकिन्छ’ भन्ने सन्देश दिदै निर्माताद्धयले एकसाथ फिल्म रिलिज नगर्ने घोषणा गरेका हुन् । नेपाली फिल्म क्षेत्रमा चाडपर्व र बिदाको मितिमा फिल्म जुधाउने प्रतिस्पर्धा चल्ने गरेको छ । तर, दशैंमा रिलिज हुन लागेका फिल्मका निर्माताले भने नयाँ सन्देश दिएका छन् ।