‘एक भागवत् गीता’को नाममा विवाद, सेन्सर सिफारिश दिन बोर्डको आनाकानी


चलचित्र विकास बोर्डले भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘एक भागवत् गीता’लाई सेन्सर सिफारिश दिन आनाकानी गरेको छ । आज दिनभर विकास बोर्डमा रहेका निर्माता सुनिल कुमार थापाले विनाकारण बोर्डले सेन्सरका लागि पत्र नदिएको भन्दै असन्तुष्टी जनाए । 

केही धार्मिक संघ संस्थाले फिल्मको नाम नै परिवर्तन गर्नुपर्ने भन्दै विकास बोर्डमा पत्र दिएपछि अध्यक्ष भुवन केसी दबाबमा परेका हुन् । उनले, भोली बोर्डका स्वकिय सचिवसहित बसेर छलफल गरेर निर्णय लिने बताए । 
तर, फिल्मका निर्माता सुनिल कुमार थापाले भने विनाकारण आफूहरुलाई दुःख दिने काम भएको भन्दै असन्तुष्टी जनाए । 

फिल्मको नाम परिवर्तन नभए रिलिज नै गर्न नदिने भन्दै केही धार्मिक संघसंस्थाले विरोध जनाइरहेका छन् । यसैले, विकास बोर्डले निर्मातालाई आज सेन्सरका लागि सिफारिश दिन सकेन । 

फिल्मले एक बालक र एक यूवतीको कथालाई प्रस्तुत गरेको भन्दै केही धार्मिक संघसंस्थाले फिल्मको नामले गलत सन्देश जाने तर्क गरेका छन् । तर, निर्माता सुनिलकुमार थापाले भने फिल्मले कुनै पनि धर्मको बिषयमा कथा नभनेको भन्दै २ पात्रको नाममा फिल्म बनाएको बताए । 

फिल्म बनाउँदा जहिले पनि आफूहरुले बाधा व्यहोर्न परेको भन्दै उनले दुःख व्यक्त गरे । झरना थापा निर्देशित फिल्म भदौको २९ गतेबाट रिलिज हुँदैछ । तर, रिलिजका लागि एक साता बाँकी रहँदा पनि विकास बोर्डबाट यसले सेन्सरको अनुमति पाएको छैन । विभिन्न धार्मिक संघसंस्थाले नाम परिवर्तन नभए भदौ २३ गतेबाट सडकमा जाने चेतावनी दिएका छन् ।