जवानमा सेन्सरको कैची नचल्दा देखाइयो चुच्चोबिहिन नेपाल

नेपालको राजनीतिमा भारतीयले जति चासो राख्छन्, त्यो भन्दा बढी चासो बलिउडले राख्छ भन्दा फरक नपर्ला । खास गरी बलिउडले नेपालको भौगोलिक अवस्थामा बढी चासो राख्छ । त्यहीकारण उनीहरुले नेपालको भौगोलिक अवस्थालाई विवादास्पद रुपमा फिल्ममा जोड्ने गरेका छन् ।

केही समयअघि फिल्म ‘आदिपुरुष’ले सीताको विषयमा विवादास्पद संवाद राखेको विषय साम्य भएको केही समय बित्न नपाउँदै आजबाट रिलिज फिल्म ‘जवान’ले विवादास्पद दृश्य फिल्ममा राखेको छ । 

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा २०७७ जेठ ७ गते सार्वजनिक गरेको सर्वविदितै छ । 

तर फिल्म ‘जवान’ मा देखाइएको एनिमेटेड तस्विरमा नेपालको पुरानो भौगोलिक संरचनालाई मात्र देखाइएको छ । दृश्य अनुसार फिल्मका भिलेन विजय सेतुपतिले विदेशी लगानी भित्र्याउनका लागि उपयुक्त स्थान भारत हो भनेर व्याख्या गर्छन् । दृश्यमा नेपालले दाबी गरेर नेपालको नक्सामा थपिएको भौगोलिक क्षेत्रलाई भने भारतको भनेर देखाइएको छ । 

फिल्म रिलिज हुनुअघि सेन्सर गराउनुपर्ने सर्वमान्य नियम नै हो । तर यो फिल्म सेन्सर गरिरहँदा सेन्सर बोर्डका सदस्यहरूले उक्त दृश्यलाई ध्यान नदिएको प्रष्ट बुझ्न सकिन्छ । 

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरिसक्दा पनि ‘जवान’मा भने पुरानै नक्सा देखाइएपछि सेन्सर बोर्डमाथि प्रश्न उठेको छ । 

सरकारले नयाँ नक्सा जारी गरेर नेपालभर लागु भइसकेको अवस्थामा भारतीय फिल्ममा पुरानै नक्सा देखाइँदा पनि सेन्सरले त्यसमा कैंची नलगाउनु कतिसम्म गम्भीर गल्ती हो भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

सेन्सर हुँदा सूचना तथा सञ्चार मन्त्रालयका सह–सचिव अध्यक्ष रहन्छन् । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयकै सदस्य सचिव, गृह मन्त्रालयको प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र चलचित्र विकास बोर्डको प्रतिनिधि रहने व्यवस्था छ ।

केही समयअघि चीनले नयाँ नक्सा जारी गर्दै नेपालको पुरानै भौगोलिक संरचनालाई प्राथमिकता दिएको थियो । यसमा असहमति जनाउँदै काठमाडौँ महानगरका मेयर बालेन शाहले चीन भ्रमणको कार्यक्रम रद्द गरेका थिए । 

त्यसो यतिबेला सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग भएका छन् । साथै आम प्रयोगकर्तालाई पनि नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्न थालिसकेका छन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । यो नयाँ नक्सा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।