दयाहाङ भन्छन्–राजनीति भन्दा फिल्म नै सजिलो

अभिनेता दयाहाङ राईलाई नजिकबाट चिन्नेले कुशल अभिनेताका अलावा ‘धेरै बोल्ने र गफ गर्ने व्यक्ति’का रुपमा समेत चिन्छन् । उनको वाक कलालाई बुझेका जोकोहीले राजनीतिमा लाग्न सुझाएका पनि हुन् । तर दयाहाङ अभिनयलाई छोडेर फरक विधामा पाइला चालेनन् ।

‘मलाई राजनीतिमा चासो त छ । मेरो बोली र गफ सुन्नेले राजनीतिमा लाग्छ कि भन्ने सोच्दा रहेछन् । तर वास्तविकता त्यो होइन’, दयाहाङ भन्छन्, ‘राजनीतिमा आउँछु नै भन्ने छैन । किनकी राजनीति गर्न सजिलो पनि त छैन ।’

दयाहाङ आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’मा ‘पासाङ’ नामक शिक्षकको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा उनलाई शिक्षणबाट बाध्यात्मक अवस्थामा राजनीतिमा प्रवेश गरेका व्यक्तिका रुपमा देखाइएको छ । फिल्मको सार्वजनिक टिजर र ट्रेलरमा पनि यही कुरा देखिन्छ ।

दयाहाङले फिल्म ‘कबड्डी’मा कार्यकर्ताको भूमिका निभाएका थिए । राजनीतिक चरित्रमा देखिएको सम्भवतः ‘नाङ्गो गाउँ’ नै पहिलो हो । राजनीतिबारे दयाहाङको फरक बुझाई छ ।

‘समाजलाई सही दिशामा लैजान राजनीति आवश्यक छ । अझ त्यहाँबाट उम्मेदवारी दिएर र जनताले दिएको भोटले नेतृत्व लिइसकेपछि राजनीति गर्नुपर्छ’, दयाहाङ भन्छन्, ‘मेरो मामलामा यो सम्भव छैन । त्यसकारण मेरा लागि राजनीति भन्दा फिल्म नै सजिलो छ ।’

उनी ‘नाङ्गो गाउँ’ले राजनीतिक सामाजिक परिवेशलाई उजागर गर्ने बताउँछन् । ‘फिल्ममा अहिलेको समयको हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने देखाएको छ । समाजभित्र हामीलाई जसले नेतृत्व गर्छन् अथवा नेतृत्वमात्र नगरेर हामीलाई शासन गर्छन्, तिनीहरूको दिमाग कस्तो हुन्छ अथवा उनीहरूको सोच कस्तो हुन्छ भन्ने फिल्मले देखाएको छ’, दयाहाङ खुल्छन् ।

‘कबड्डी ३’ र ‘नाङ्गो गाउँ’को राजनीति फरक रहेको दयाहाङको बुझाई छ । ‘कबड्डी ३ मा काजी र मैयाको पृष्ठभूमिमा आएको एक राजनीतिक अवस्था थियो । उनीहरूको प्रेम अथवा उनीहरूको सम्बन्धलाई कहाँ पु¥याउँछ भन्ने थियो । तर नाङ्गो गाउँमा हरेक चरित्रलाई राजनीतिक अवस्थाले असर पारिरहेको देखाइएको छ’, उनी भन्छन् ।

दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’मा दयाहाङका अलावा मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, अंकित खड्कालगायतका कलाकारको अभिनय छ ।