वर्षा र सुशिलको चर्चा हुँदा स्वस्तिमा ओझेलमा ?


भदौको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘ऐँचो पैँचो’को टिम मोफसल दौडमा छ । निर्देशक कृषा चौलागाँइसहित नायिका वर्षा राउत र नायक सुशिल सिटौला चितवन हुँदै दमक पुगेका थिए । 

उनीहरुले विभिन्न स्थानका हलमा दर्शकसँग बसेर फिल्म हेरे र कुराकानी गरे । चितवनको म्याङ्गो हलदेखि दमकको डीम्याक्स हलमा फिल्म हेर्न पुगेका दर्शकसँग वर्षा र सुशिलले ‘काले केटा’ बोलको गीतमा खुलेरै नृत्य गरेका थिए ।

नायिका वर्षा राउतले दर्शकको माया पाउँदा आफू अत्यन्त खुशी भएको र यस्तो साथ आगामी दिनमा पनि पाउने अपेक्षा गरिन् । निर्देशक कृषा चौलागाइले फिल्मलाई दर्शकले मन पराएको र वर्ड अफ माउथका कारण फिल्मले व्यापारमा पनि पिकअप लिएको उनको भनाई थियो । 

यो फिल्ममा वर्षा र सुशिलले गरेको अभिनयको सर्वत्र चर्चा भैरहेको छ । वर्षा र सुशिलको कामलाई दर्शकदेखि मिडियाकर्मी र फिल्मीकर्मीले पनि खुलेरै तारिफ गरेका छन् । तर, फिल्मको प्रचारमा अग्रपंक्तिमा रहेकी नायिका स्वस्तिमा खड्का भने छायामा परेकी छिन् । 

यो फिल्ममा स्वस्तिमाले टिकटकरको भूमिकामा काम गरेकी छिन् । उनको अभिनय फितलो छ । फिल्ममा उनीमाथि वर्षा हाबी भएकी छिन् । 

‘बुलबुल’ फिल्ममा राम्रो अभिनय गरेपछि उदाएकी स्वस्तिमा ‘ऐँचो पैँचो’मा निर्वाह गरेको भूमिकासम्म आइपुग्दा कमजोर देखिएकी छिन् । कतिपय समीक्षकले उनलाई अझै पनि ‘बुलबुल’कै क्रेडिट खाइरहेको आरोप लगाउने गरेका छन् । 

स्वस्तिमाको निरन्तर फिल्म फ्लप भैरहेका थिए । यसैले, यो फिल्म उनका लागि महत्वपूर्ण थियो । तर, फिल्ममा उनले गरेको कामले समेत धेरैको ध्यान खिच्न सकेन ।