स्वस्तिमा भन्छिन्–‘प्रदर्शकले विदेशी फिल्म किन्ने कुरामा प्रोटोकल लागू हुनुपर्छ’


बिहिबारबाट बलिउड फिल्म ‘जवान’ रिलिज हुँदैछ । यो फिल्मको शोज अधिकांश मल्टिप्लेक्सले खोलिसकेका छन् । नेपालमा ठूला विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन् । यसपटक पनि ‘जवान’का कारण यो बिहिबारबाट रिलिज भएका ‘ऐँचो पैँचो र गणपति’लाई दोश्रो सातामा प्रदर्शकले पेल्ने अवस्था देखिएको छ । 

दोश्रो सातामा यी फिल्महरुले शो नै नपाउने अवस्था सिर्जना भैरहेको छ । शोज खुलाएका अधिकांश मल्टिप्लेक्सको तयारी हेर्दा दोश्रो सातामा नेपाली फिल्मका लागि शोज नै नहुने पक्का जस्तै छ । 

आखिर, यो खालको विकृती किन नेपालमा सिर्जना भैरहेका छन् । यो बिषयमा नायिका स्वस्तिमा खड्का भन्छिन्–‘यहाँ प्रदर्शकले नै फिल्म किन्छन्, उनीहरु नै फिल्म देखाउँछन् । हुनत, उहाँहरुको पनि व्यापारको कुरा होला । तर, आफैले फिल्म ल्याएपछि त अरु फिल्मको ५० प्रतिशत अकुपेन्सी भएपनि शत प्रतिशत अकुपेन्सी हुने फिल्म रिलिज हुने नै भए । प्रदर्शकले नै फिल्म किन्ने कुरामा प्रोटोकल लागू हुनुपर्छ जस्तो मलाई लाग्छ ।’

स्वस्तिमाले आज ‘जवान’, भोली ‘सलार र टाइगर ३’ रिलिज हुँदा पनि नेपाली फिल्म पेलिनुपर्ने अवस्था आउने बताइन् । उनले भनिन्–‘सबै फिल्म प्रदर्शकले नै ल्याउने भएपछि हिन्दी फिल्मले पेल्ने नै भए । यसले झनै गाह्रो हुने अवस्था आएको हो ।’