‘जवान’लाई आक्रामक शो, दोश्रो सातामा नेपाली फिल्मलाई खै त शोज ?
बिहिबारबाट नै भारतसँग विश्व बजारमा रिलिज हुन लागेको बलिउड फिल्म ‘जवान’को बुकिङ नेपालमा एक साता अगाडि नै खुलाइएको छ । क्यूएफएक्स चेन बाहेक अधिकांश हलमा यो फिल्मको बुकिङ एक साता अगाडि नै सुचारु गरिएको छ । यो साता रिलिज भएका २ नेपाली फिल्मले हलमा सुखद कमाई गरिरहेको समयमा प्रदर्शकले भने अर्को साता यी दुबै फिल्मलाई हतोत्साही बनाउने काम गरेका छन् ।
फिल्मको सेन्सर नभई बुकिङ खोल्न नपाइने भन्ने चलचित्र सेन्सर बोर्डको नियमको पनि धज्जी उडाइएको छ ।
यो फिल्मलाई एप्पल कम्पनीले नेपाल भित्राएको हो । फिल्मलाई अधिकांश मल्टिप्लेक्सले दिएको शोज हेर्दा अर्को साता नेपाली फिल्मले हल नै पाउने अवस्था छैन । बिहिबारबाट २ नेपाली फिल्म ‘ऐँचो पैँचो र गणपति’ रिलिज भएका छन् ।
बीग मुभिज, एफक्यूब, वान सिनेमाज् लगायतका हलले आफ्नो हल क्षमताको सबै शोज यो फिल्मलाई दिएका छन् । यसरीहेर्दा, दोश्रो सातामा नेपाली फिल्म चल्दैनन् भनेर प्रदर्शकले रिलिज भएको भोलीपल्टै अनुमान गरेको देखिन्छ ।
‘जवान’ले बक्स अफिसमा बम्पर व्यापार गर्ने कुरामा दुई मत छैन । तर, फिल्म रिलिज हुन एक हप्ता बाँकी रहँदै नेपालमा सेन्सर नै नभएको अवस्थामा शोज खोल्दा पनि विकास बोर्डले केही बोलेको छैन । यदि, यो फिल्मका दृश्यहरु आपत्तीजनक भएर नेपालमा रिलिज नै गर्न नहुने खालको रहेछ भने के हुन्छ ? सेन्सर नगरि फिल्मको बुकिङ खुलाउन नमिल्नुको कारण यही नै हो ।
नेपाली फिल्म रिलिजको अघिल्लो दिनसम्म पनि बुकिङ खुलाउन आनाकानी गर्ने प्रदर्शकहरुले भारतीय फिल्मका लागि भने नेपाली फिल्मलाई हतोत्साही गर्दै बुकिङ सुचारु गरेका छन् ।
प्रतिक्रिया