किन उठ्दैछ ‘एक भगवत् गीता’को प्रदर्शन रोक्नुपर्ने माग ?
भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक भगवत् गीता’को प्रदर्शन नै रोक्नुपर्ने माग उठेको भन्दै यसका निर्माता सुनिल कुमार थापाले फिल्मले कुनै पनि धर्मको कथालाई उठान नगरेको बताएका छन् ।
यो फिल्मको घोषणा हुँदाको समयमा नै विश्व हिन्दु महासंघले नामलाई लिएर आपत्ती जनाएको थियो । तर, फिल्मको नाममा विवाद हुने देखेर यसको निर्माणपक्षले ‘एक भगवत् गीता’ नाम राखेको छ ।
तर, यसको नामलाई लिएर विवाद रोकिने छाटकाट देखिएको छैन । शुक्रबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा भैरहँदा चलचित्र विकास बोर्डमा भने विश्व हिन्दु महासंघका प्रतिनिधीले अध्यक्ष भुवन केसीलाई भेटेर नाम परिवर्तन गर्नुपर्ने माग राखेका थिए ।
फिल्मका निर्माता सुनिलकुमार थापाले ट्रेलर रिलिज कार्यक्रममा भुवन केसी आउन नसक्नुको कारण यही भएको बताए ।
सुनिलले फिल्म नै रोक्नुपर्ने भन्दै विकास बोर्डमा आन्दोलन भैरहेको बताए । तर, नायिका सुहाना थापाले भने फिल्मले कुनै पनि धर्मलाई नकारात्मक रुपमा प्रस्तुत नगरेको बताइन् । उनले भनिन्–‘उहाँहरुको पनि भगवान् हुनुहुन्छ भने मेरो पनि त भगवान् हुनुहुन्छ नी । मैले पनि आस्थाले नै फिल्म बनाएको हुँ । कर्म नै सबैभन्दा ठूलो कुरा हो ।’
सुहानाले कानुनी हिसाबले फिल्ममा त्यस्तो कुनै पनि नकारात्मक कुरा नदेखाइएको प्रष्ट पारिन् ।
प्रतिक्रिया