कबीरलाई एक भगवत गीता - असम्भवबाट सम्भव यात्रा
नेपाली फिल्मकर्मी र दर्शकमाझ अभिनेता कबीर खड्का ‘हिरो’को पारङ्गत मानकभित्र अटाउँछन् । उनले अभिनय गरेका चार फिल्ममध्ये दुई फिल्म ‘लम्फू’ र ‘गुञ्जन’ रिलिज भइसकेका छन् । दुवै बक्सअफिसका असफल फिल्म हुन् ।
दुवै फिल्म असफल भए पनि उनको अभिनय यात्रा रोकिएको छैन । किनकी बाँकी दुई फिल्म ‘एक भगवत गीता’ र ‘लण्डन टु पेरिस’ लाइनअपमा छन् । ‘एक भगवत गीता’ त यही भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
संयोग के छ भने यी दुवै फिल्म ठूलो क्यानभासमा निर्माण गरिएका फिल्म हुन् । फिल्ममा उनका सहकर्मी पनि समकालिनदेखि अग्रजसम्म छन् । त्यसैले पनि उनी ढुक्क छन् र सँगै खुशी पनि ।
फिल्ममा अभिनेताका रुपमा पाइला चाल्ने बाटो खोजिरहँदा फिल्म ‘लम्फू’बाट त्यो मौका पाए । तर, पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । अर्थात फिल्म व्यवसायिक रुपमा सफल हुन सकेन । तथापि, उनको अभिनय र लुक्सको चर्चा भयो । फलतः उनलाई नेपाली फिल्मले खोज्न थाल्यो । उनले दोस्रो फिल्मको रुपमा ‘गुञ्जन’ गरे । यो फिल्म नामजस्तै बक्सअफिसमा गुञ्जिन सकेन । तेस्रो फिल्मको रुपमा ‘लण्डन टू पेरिस’मा काम गरे । यो फिल्म निर्माणकै चरणमा छ ।
ओस्कार फिल्म एकेडेमीबाट पास आउट कबीरमा अभिनयको कौशल छ, तर त्यो कौशललाई नजरअन्दाज कसैले गर्न नसकेको उनको बुझाई छ । उनको बुझाईलाई गलत साबित गर्दै निर्देशक झरना थापा र निर्माता सुनीलकुमार थापाले उनलाई नजिकबाट नियाले । त्यो नियाल्नुको परिणाम दर्शकले सुनील र झरनाको फिल्म ‘एक भगवत गीता’मा हेर्न पाउनेछन् ।
अहिले ‘एक भगवत गीता’को चर्चा र हाइप राम्रै छ । त्यही चर्चा र हाइपलाई कविर ‘क्यास’ गर्न चाहन्छन् । फिल्मको सार्वजनिक ट्रेलरमा देखाइएको उनको चरित्रले पनि यो कुरालाई पुष्टि गर्ने आधार दिएको छ । फिल्मको ट्रेलर हेर्दा उनको भूमिका नकारात्मक देखिन्छ । यो फिल्मले उनलाई एउटा बाटो देखाएर बाँकी बाटो कोर्न सहज गराउने आशमा उनी छन् ।
‘मेरो लागि चल्तीको ब्यानरमा र चर्चित कलाकारका साथ काम गर्दा गर्वको कुरा हो । एक भगवत गीता मेरा लागि चुनौतीको काम रह्यो र सँगै चलेको ब्यानरमा काम गर्ने अवसर आउँदा खुसी पनि लाग्यो । ‘एक भगवत् गीता’मा काम गर्न पाउनु नै मेरा लागि असम्भवबाट सम्भवको यात्रा थियो’, कवीर भन्छन्, ‘यस फिल्ममा जोडिए पछि अझै धेरै कुरा सिक्न र बुझन बाँकी रहेको रहेछ भन्ने लागेको छ । अग्रज कलाकार र निर्मातासँग एकै स्थानमा बसेर काम गर्न पाउनु मेरो लागि सुखद अवसर हो ।’
प्रतिक्रिया