१० करोडमा तयार भयो दीपक–दीपाको हल
फिल्म क्षेत्रमा लगातार एकछत्र राज गरिरहेका दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा काठमाडौंको नयाँ बाँनेश्वरमा नयाँ हल तयार भएको छ । भदौको २१ गतेबाट रिलिज हुने नायक साहरुख खान अभिनित चलचित्र ‘जवान’ रिलिजसँगै यो हलको सुरुवात हुनेछ ।
उसो त, दीपकलाई उनका नजिकका साथीभाइहरुले अन्य व्यवसाय गर्नका लागि आग्रह गरेका थिए । तर, दीपकको मन भने कलाकारिता भन्दा कतै गएन । यसैले, उनले आफ्नो टिमसँग सल्लाहा गरेर १० करोड लगानीमा हल संचालनमा ल्याउन लागेका हुन् ।
२ पर्दा भएको यो हलमा कुल ४ सय दर्शकले फिल्म हेर्न सक्छन् । एनबी सेन्टरको पाँचौ र छैटौं तलामा यो हल तयार भएको छ ।
एउटा कुरा त, प्राइम लोकेशन भएकाले पनि दर्शकको भिडभाड यो हलमा हुने गर्दछ । साथमा, आरमदायी सिट, ध्वनी र दृश्यको गज्जबको समायोजन हलमा छ । अत्याधुनिक एटमस साउण्ड समेत यो हलमा जडान गरिएको छ । दुबै हलमा थ्री डी फिल्म पनि हेर्न मिल्नेछ । यो हलको व्यवस्थापन भने आइएनआईले गर्नेछ ।
दीपकले यो हलमा नेपाली फिल्मलाई नै प्राथमिकता दिने बताएका छन् । दीपकराज गिरी अहिले यही हलको अन्तिम काममा बढी व्यस्त भएकाले फिल्मको कथा लेख्ने काममा खासै सक्रिय हुन पाएका छैनन् । हल संचालनमा आएपछि भने दीपकले नयाँ फिल्मको कथा लेख्ने कामलाई रफ्तार दिनेछन् ।
प्रतिक्रिया