‘ऐंचो पैंचो’को सुखद् सुरुवात, वितरकले भने - धेरै ठाउँहरुमा शो थपिएको छ

जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ । निर्माण टिमका अनुसार फिल्मको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी मिलेको छ ।

बिहानी शो केही कमजोर देखिएपनि निर्मात्री कृषा चौलागाईंको निर्देशकिय डेब्यू फिल्मले दिउँसोबाट पिकअप लिएको बताइन् । 

दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउत दर्शक प्रतिक्रिया लिन हल पुगेका थिए । 
हल सञ्चालकहरुले दिउँसोका शोहरु हाउसफुल छन् आउनु होला भनेकाले आफुहरु उत्साहीत भएर दर्शक प्रतिक्रिया लिन गएको उनीहरुको भनाइ छ ।

निर्देशक चौलागाईले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन् । 
'हामीलाई फिल्म हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ', उनले भनिन्।

आज शुक्रबार र भोलि शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास आफूलाई रहेको उनको दाबी छ । 

बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र बर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । उनीहरु पुगेका हलहरुमा शो हाउसफुल थिए ।

यस्तै वितरक रोहीत कट्टेल र रत्न श्रेष्ठ पनि फिल्मले राम्रो ओपनिङ गरेपछि खुशी देखिए । 

वितरक कट्टेलले फिल्मले बिहीबार राम्रो ब्यापार गरेकाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको जानकारी दिए । 

अब विकेण्डमा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिले राम्रो ब्यापार गर्ने अपेक्षा वितरकद्धय कट्टेल र श्रेष्ठको छ । उनीहरुले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि फिल्मले राम्रो सुरुवात गरेको जानकारी दिएका छन् ।

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । 

पूर्वी नेपालको मधुमल्लामा खिचिएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । 

फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।