बाँकी ‘राष्ट्रिय अवार्ड’ थियो, त्यसको पनि इज्जत धुमिल बनाइयो

नेपालमा बर्षेनी फिल्म अवार्डको नाम दर्जन बढी अवार्ड आयोजना हुने गर्दछन् । तर, ती अवार्डको क्रेज अहिले छैन भन्दा पनि हुन्छ । आयोजकले बोलाएर अवार्ड दिन्छु भन्दा पनि कलाकर्मी समारोहमा पुग्दैनन् । 

अवार्ड वितरणमा मनपरी, राम्रा भन्दा हाम्रालाई दिने चलनका कारण नेपालमा फिल्मी अवार्डको क्रेज सकिएको हो । अहिले जती पनि अवार्ड आयोजना भएका छन्, ती अवार्डलाई आयोजकले निरन्तरताका लागि मात्र गरिरहेका छन् । अधिकांश अवार्ड त अमेरिका वा कुनै सम्पन्न मुलुक जानका लागि डकुमेन्ट बनाउनका लागि प्रयोग भएका छन् । 

यो भिडमा चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’को ईज्जत केहि बाँकी थियो । राज्यले दिने भएकाले पनि अवार्डको गरिमा हुनु स्वभाविक नै हो । विशेषगरि, राष्ट्र प्रमुखको हातबाट वितरण गरिने भएकाले पनि फिल्मीकर्मीहरु यो अवार्डका लागि उत्साहित हुने गर्दथे । 

तर, अब यो अवार्डको इज्जत पनि खिइदै गएको छ । हरेक वर्ष अवार्डलाई लिएर भैइरहेका विवाद र बोर्डका व्यक्तिहरुको हालिमुहालीका कारण अवार्डको महत्व घट्दै गएको हो । 

यो वर्ष त झन्, अवार्डको गरिमा धुलिसात भएको छ । आयोजकले ३५ जनालाई ‘विशेष सम्मान’ प्रदान गर्यो । जुन सम्मान किन र कस्तो योगदानका लागि प्रदान गरिएको हो भन्ने खुलाउन आयोजकले आवश्यक ठानेको छैन । बोर्डका अध्यक्षदेखि सदस्यहरुको निकटता, उनीहरुलाई खुशी बनाउने बहानामा मनपरि रुपमा लामो लाइन लगाएर सम्मान प्रदान गरियो । जसले, बोर्डले प्रदान गर्ने सम्मानको महत्व नै देखिएन । 

अर्कोतिर, यो वर्ष विकास बोर्डले ‘उत्कृष्ट फिल्म’ नै प्रदान गरेन । ‘प्रकाश’ फिल्मलाई जुरीले उत्कृष्ट ठहर्याए पनि सरकारी तबरबाटै हस्तक्षेप भएपछि यो विधामा अवार्ड नै दिइएन । जसले, अवार्डको चर्को विरोध भैरहेको छ । राष्ट्रिय अवार्डमा पनि सरकारी हस्तक्षेप हुन थालेपछि त्यसको महत्व कम हुने नै भयो । 

राष्ट्र प्रमुखबाट वितरण गरिने अवार्डको आफ्नै गरिमा हुन्छ । यो अवार्ड प्राप्त गर्दा फिल्मीकर्मीहरुले पनि आफूले गरेको कामप्रति गर्व गर्न सक्छन् । तर, अवार्ड वितरणमा राज्यको ठाडो हस्तक्षेप र अर्कोतिर बोर्डका अध्यक्षदेखि सदस्यहरुको रहरका आधारमा अवार्ड वितरण भएपछि यसको महत्व सकिदै गएको हो ।  

राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएका जुरीहरुको  योग्यतामाथि पनि प्रश्न उठेको छ । राष्ट्रिय पुरस्कारका लागि फिल्म छनोट गर्ने जुरीहरुमा आयोजकले हेलचक्राई गरेको देखिन्छ । आफ्ना नजिकका मानिसहरुलाई जुरी बनाउनु भन्दा पनि जुरी बन्न लायक व्यक्तिहरुलाई छनोट गर्न आवश्यक छ ।

दयाराम दाहालको नेतृत्वमा विकास बोर्ड रहँदा पनि सम्मान गैह्र फिल्मीकर्मीलाई दिएपछि चर्को विरोध भएको थियो । यसरी, एकपछि अर्को वर्ष विकास बोर्डको पुरस्कारमा आलोचना हुन थालेपछि बाँकी रहेको एउटा सम्मानित अवार्डको पनि महत्व धुमिल बनिरहेको छ ।