‘प्रकाश’सँग डरायो सरकार, ‘उत्कृष्ट फिल्म’बाट काटियो नाम


गतबर्ष रिलिजमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले आज आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम २०८०’मा उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको विधामा अवार्ड जित्यो । 

आश्चर्यलाग्दो कुरा त के थियो भने, यो समारोहमा ‘उत्कृष्ट फिल्म’को नाम नै घोषणा गरिएन । ‘उत्कृष्ट फिल्म’को नाम नै घोषणा नगरिएपछि यतिबेला सिने वृत्तमा यसले हंगामा मच्चाएको छ । ‘उत्कृष्ट फिल्म’ विना कसरी अवार्ड सम्पन्न हुन्छ भन्दै आलोचना भैरहेको छ । 

जुरीले ‘उत्कृष्ट फिल्म’को नाम आयोजकलाई वुझाएका थिए । तर, समारोहमा यो विधामा अवार्ड नै प्रदान गरिएन । उसो भए, कुन फिल्म थियो त उत्कृष्टमा ?

विशेष श्रोतका अनुसार, जुरीले ‘प्रकाश’ फिल्मलाई उत्कृष्ट फिल्ममा छनोट गरेका थिए । तर, गतबर्ष रिलिज भएको यो फिल्मले माओवादी जनयुद्धको कुनै न कुनै कोणबाट विरोध गरेको छ । गतबर्ष फिल्म हेर्दा नै शिक्षामन्त्री देवेन्द्र पौडेलले फिल्मलाई लिएर आपत्ती जनाएका थिए । 

यसैले, माओवादीकै संचार मन्त्री भएको समयमा यो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाउने कुरा नै भएन । श्रोतका अनुसार, यो फिल्म मन्त्रालयकै कर्मचारीहरुले हेरेका थिए । 

यसैले, ‘प्रकाश’लाई ‘उत्कृष्ट फिल्म’ दिन नहुने ठहरमा उनीहरु पुगेपछि मुख्य विधा नै अवार्डबाट हटाइएको थियो ।
 
एउटा फिल्म र त्यसले उठान गरेको बिषयबाट सरकार कसरी डराउँछ भन्ने कुरालाई यो बिषयले पुष्टी गरेको छ । चलचित्र विकास बोर्ड संचार मन्त्रालयको आदेशमा चल्ने भएकाले पनि उसले मन्त्रालयको आदेशको विरुद्धमा काम गर्ने कुरै थिएन ।