‘९६औं अस्कर अवार्ड’को लागि नेपाली फिल्मको आवेदन माग
एकेडेमी अवार्डस् (अस्कर), अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी गराउन सूचना जारी गरेको छ । समितिले प्रेस विज्ञप्ति जारी गर्दै आवेदन माग गरेको हो ।
विज्ञप्तिमा एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध भइआएकाले ९६औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली फिल्म निर्देशक र निर्माताहरूलाई आफ्नो फिल्म २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आह्वान गरिएको छ ।
सो प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म सन् २०२२ डिसेम्बर १ तारिख अर्थात् वि.सं. २०७९ असोज १५ गतेभन्दापछि तथा सन् २०२३ सेप्टेम्बर ३० तारिख अर्थात् वि.सं. २०८० साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका फिल्मले आवेदन दिन सक्नेछन्।
दरखास्तका साथमा फिल्म जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाण, ३५ एम.एम. वा ७० एम.एम.को भिडियो वा २४-४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा, यसैगरी २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अंग्रेजी भाषामा लेखिएको फिल्मको संक्षिप्त सारांश (कथासार), निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित फिल्मका ३ देखि ५ वटासम्म स्थिर फोटाहरू, फिल्म रिलिज हुँदाको एउटा अफिसियल पोस्टर (600dpi tif format, RGB Color mode, साइज 40"x27”), फिल्म प्रदर्शन गराउँदा उक्त फिल्म सात दिनभन्दा बढी फिल्मघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।
यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको काठमाडौमा रहेको सचिवालय वा ९८५११४६५२३ मा सम्पर्क गर्न सकिनेछ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान हुनेछ ।
उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी गराउन फिल्म निर्देशक राजु के.सी.को नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) गठन भएको छ । यो स्वतन्त्र समिति हो ।
प्रतिक्रिया