‘जवान’ ४ करोडमा भित्रदा ‘एैँचो पैँचो र गणपति’लाई खतरा


नेपालमा ठूला विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्मले सधैं नै खतरा भोग्नु परेको छ । बलिउडका स्टार कलाकार र शक्तिशाली ब्यानरका फिल्मले नेपाली फिल्ममाथि सधैं नै खतरा बोलेका छन् । 

यसपटक एप्पल कम्पनीले रेड चिल्ली इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म ‘जवान’लाई ४ करोड नेपाली रूपैयाँ खर्चिएर नेपाल भित्र्याएको छ । यो फिल्मले नेपाली वितरकको लगानी उठाउन मात्र पनि १२ करोडको हाराहारी ग्रस कलेक्शन गर्नुपर्ने हुन्छ । 

यो फिल्म रिलिज हुन ९ दिन बाँकी छ । शुक्रबारबाट भने नेपाली फिल्म ‘गणपति र एैँचो पैँचो’ रिलिज हुँदै छन् । यी दुबै फिल्मले राम्रो शोज पाउन सक्छन् । 

तर, दोस्रो सातामा भने यी दुबै फिल्मका लागि ‘जवान’ले खतराको घन्टी बजाउने देखिएको छ । एप्पल कम्पनीले किनेका कारण पनि दोस्रो सातामा जवानले क्यूएफएक्समा उच्च शो पाउने निश्चित छ । साथमा, अधिकांश हलहरु ‘जवान’बाट पैसा कमाउने दाउमा छन् । 

महँगो रकममा खरिद (किनेका)ले पनि यो फिल्ममा खर्च गरेको रकम उठाउन वितरकले सबै शक्ति प्रयोग गर्नेछन् । जसको असर, दोस्रो सातामा नेपाली फिल्मलाई पर्ने निश्चित छ । 

दुबै नेपाली फिल्मले रिलिजको केही दिनमा दम तोडे भने त वितरकका लागि शोज कटौती गर्न सहज हुनेछ । तर, दुबै फिल्मले दर्शकको राम्रो साथ पाएको खण्डमा दोस्रो सातामा यसै शोज कटौती गर्न गाह्रो हुन्छ । तर, ‘जवान’का कारण नेपाली फिल्म चेपुवामा पर्न सक्छन् । यो विषयमा फिल्म क्षेत्रका संघसंस्था र फिल्मको निर्माण कम्पनी चनाखो हुन जरुरी छ ।