उच्च प्रचारका बाबजुत बक्स अफिसमा किन चलेन ‘जय हो’ ?
भदौको ८ गतेबाट रिलिज भएको फिल्म ‘जय हो’ले बक्स अफिसमा कुनै कमाल गर्न सकेन । फिल्मको लाइफ टाइम कलेक्शन करिब ७ लाखको वरिपरी हुने देखिएको छ । यसैले, यो फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएको छ ।
यो फिल्मको निर्माण टिमले प्रचारमा कुनै कसर बाँकी राखेको थिएन । फिल्मको प्रचारका लागि नायिका केकी अधिकारी र नायक सलोन बस्नेत हरेक प्लेटफर्ममा पुगेका थिए । मिडियामा उनीहरुको अन्तरवार्ता छरपष्ट थियो । तर, पनि उनीहरुको फिल्मले दर्शक तान्न सकेन ।
फिल्म ‘जय हो’का लागि शोभितको परिवार नै लागेको थियो । निर्माता शोभित बस्नेतले यसपटक उत्कृष्ट फिल्म बनाएको प्रतिक्रिया पनि मिडियामा दिइरहेका थिए । तर, पनि दर्शकले यो फिल्मलाई पत्याएनन् ।
जय हो किन चलेन ? बक्स अफिसमा यो फिल्मको व्यापारक कमजोर देखिनुको कारण के हो ?
फिल्म आफैमा कमजोर छ । फिल्मले उठान गरेको कथावस्तुमा दम छैन । त्रिकोणात्मक प्रेम कथामा फिल्म निर्माण गरेपनि फिल्मको पटकथाले दर्शकलाई तान्न सकेको छैन । फिल्ममा सलोन बस्नेत र केकी अधिकारीको जोडी सुहाएको छैन । केकी अधिकारीले गरेको भूमिका उनका लागि फिट देखिएको छैन । जसकाकारण पनि, उनी रुदा दर्शक उनीसँगै रुन सक्दैनन् । अर्पण थापाको अभिनय दमदार हुने गर्दछ । तर, यो फिल्ममा अर्पणले अभिनय निकै कमजोर गरेका छन् ।
फिल्मको क्लाइमेक्समा दम छैन । अर्पणले बोलेको संवाद निकै लामो छ, जसले गर्दा दर्शकलाई होल्ड हुन सहज हुदैन । फिल्म भित्र प्रयोग भएका कैयौं दृश्यहरु लामा छन् ।
फिल्मको राम्रो पाटो भनेको यसको दृश्य हो । छायांकार सौरभ लामाले यो फिल्म उत्कृष्ट तरिकाले खिचेका छन् । पोखराबाट मुस्ताङसम्मको यात्रा गज्जब छ ।
फिल्म ‘जय हो’को मेकिङ र प्रचारमा शोभित बस्नेतले कुनै कसर बाँकी राखेका छैनन् । तर, निर्देशक टेक पौरखी राइले फिल्मलाई दर्शकको मन छुने तरिकाले डोर्याउन नै सकेका छैनन् । यहीकारणले, फिल्मको वर्ड अफ माउथ पनि बलियो आउन सकेन । जसकाकारण, फिल्मले आइतबारदेखि नै दम तोडेको छ ।
केही हलले फिल्मको शोज हटाइसकेका छन् । सायद, अर्को हप्ता नयाँ नेपाली फिल्म रिलिज भएपछि ‘जय हो’ अधिकांश हलबाट उत्रिने देखिन्छ ।
प्रतिक्रिया