सम्मानका नाममा विकास बोर्डको भद्रगोल निर्णय, सम्मान पनि लाज मान्ला कि ?

चलचित्र विकास बोर्डले भदौको १२ गते राष्ट्रपति कार्यालय, शितल निवासमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८०’को आयोजना गर्दै छ ।

विकास बोर्डमा भुवन केसी अध्यक्ष भएपछि हुन लागेको यो पहिलो ‘पुरस्कार तथा सम्मान’ कार्यक्रम हो । यसअघि दयाराम दाहाल अध्यक्ष हुँदा आयोजना भएको कार्यक्रममा पनि केही नाममा विवाद भएको थियो । तत्कालीन बोर्ड अध्यक्षले निकटताको आधारमा फिल्म क्षेत्रमा योगदान नै नगरेका व्यक्तिहरूलाई सम्मान प्रदान गरेपछि विवाद भएको थियो ।

यसैले, यस पटक राष्ट्रपति कार्यालयले सम्मानित हुने सबैको नाम कार्यक्रम हुनु पूर्व नै सार्वजनिक गर्न अडान लिएको थियो । यस कारण, विकास बोर्डले सम्मानित हुने ३५ जनाको नाम सार्वजनिक गरेको हो ।

विकास बोर्डले यस पटक ‘दीर्घ साधना सम्मान’बाट लक्ष्मी गिरी र शिव श्रेष्ठलाई सम्मानित गर्दै छ । यस्तै, ‘विशेष योगदान सम्मान’बाट ३५ जना फिल्मकर्मी र गैह्र फिल्मकर्मीलाई सम्मानित गर्ने तयारी विकास बोर्डको छ ।

विकास बोर्डले सम्मान प्रदान गर्न लागेका व्यक्तिहरूमा एन.आर.एन दुबईका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नाम समेत समावेश छ । फिल्म क्षेत्रमा उनको योगदान के थियो भन्ने खुलेको छैन । तर, केही महिना अगाडि विकास बोर्डले दुबइमा ‘फिल्म महोत्सव’को नाममा एउटा भद्रगोल कार्यक्रम आयोजना गरेको थियो । त्यसैको प्रभाव यस पटकको सम्मानमा देखिन्छ ।

सम्मानित हुनेहरुमध्ये कतिपयको नाम कहिले पनि सुनिएको थिएन । विकास बोर्डका अध्यक्षदेखि सदस्यहरूले आफ्नो गृह जिल्लाका फिल्मकर्मीलाई यस पटक खुसी बनाउन राम्नै चलखेल गरेको देखिएको छ ।

अर्कातिर, ३५ जना व्यक्तिलाई एकैसाथ सम्मान गर्दा त्यो सम्मानको महत्त्व कति रहला? भन्ने प्रश्न समेत उठाउन सकिन्छ । फिल्म क्षेत्रकै हरेक विधाबाट केही व्यक्ति छनोट गरेर सम्मान गर्दा त्यसको महत्त्व पनि बढ्छ । तर, विकास बोर्डले प्रदान गर्न लागेको सम्मानितहरूको सूची हेर्दा यो क्षेत्रमा योगदान गरेका थुप्रै फिल्मीकर्मीहरु नै छक्क पर्ने अवस्था छ ।