‘एैँचो पैँचो’को आक्रामक प्रचार, बक्स अफिसमा कस्तो पर्ला प्रभाव ?
आउँदो १४ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘एैँचो पैँचो’को प्रचार आक्रामक छ । यसका कलाकारदेखि निर्देशकले फिल्म प्रचारका लागि कुनै पनि प्लेटफर्मलाई छाडेका छैनन् । यसैले, प्रचारको असर बक्स अफिसमा कस्तो देखिएला भन्ने अड्कलबाजी पनि सुरु भएको छ । किनकी, पछिल्लो समयमा दर्शकले फिल्मको ट्रेलर, मेकर र कलाकारलाई हेरेर फिल्म रोज्ने गरेका छन् ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिष क्षेत्री लगायतका कलाकारको अभिनय छ । निर्देशक चौलागाँइले यो फिल्म पारिवारिक कथावस्तुमा केन्द्रित रहेकोबताइन् । यस्तै, उनले समाजमा हुने राजनीतिलाई पनि फिल्ममा उठान गरिएको बताइन् । राजनीति फिल्मको एउटा लाइनअप मात्र भएको उनको भनाई छ ।
नायिका स्वस्तिमा खड्काले यो फिल्मलाई राजनीतिज्ञले हेर्नै पर्ने दाबी गरिन् । उनले, राजनीतिक दलहरुलाई यो फिल्मले सच्चिन मद्दत गर्ने पनि तर्क गरेकी छिन् । यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने स्वस्तिमाको भनाई छ । यो फिल्मको प्रचारमा नेताहरुलाई पनि कृषाले उपस्थित गराउने गरेकी छिन् । प्रेम आलदेखि योगेश भट्टराइसम्मले फिल्म हेर्नका लागि आग्रह गरिसकेका छन् । फिल्मका निर्माता विशाल चौलागाइले धेरै देशमा फिल्मको राइट्स विक्री भैसकेको बताउँदै नेपालबाटै लगानी सुरक्षित गर्ने दाबी गरेका छन् ।
स्वस्तिमाले फिल्म राम्रो बनेकाले कुनै गसिप र कन्ट्रोभर्सीले फिल्म चलाउने पक्षमा नरहेको तर्क समेत गरेकी छिन् । यस्तै, अर्की नायिका वर्षा राउतले आफ्नो भूमिका छोटो भएपनि शक्तिशाली रहेको बताइन् । वर्षाले फिल्म भनेको टिमवर्कमा बन्ने भएकाले पनि सबैले राम्रो काम गरेपछि मात्र एउटा उत्कृष्ट फिल्म बन्न सक्ने दाबी गरिन् ।
यस्तै, कलाकार मुकुन भुषालले पनि फिल्मको स्क्रिप्ट मन परेपछि आफू आकर्षित भएको बताइन् । नायक सुशिल सिटौलाले आफूले सधै नै फरक फरक कथामा काम गर्न चाहेको बताउँदै यसपटक पनि दर्शकका लागि विशेष स्वाद पस्कन तयार रहेको बताएका छन् ।
फिल्मको ‘काले केटा’ बोलको गीत चर्चामा छ । साथै, फिल्मको ट्रेलरले पनि दर्शकको ध्यान तानेको छ । यसैले, खडेरी लागेको बक्स अफिसलाई यो फिल्मले उठाउने आशा धेरैको छ ।
प्रतिक्रिया