फिल्म ‘जय हो’ को व्यापारमा छैन दम

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘जय हो’ले व्यापारिक रुपमा कमजोर सुरुवात गरेको छ । शुक्रबार र शनिबार फिल्मका मुख्य कलाकार हल–हलमा पुग्दै व्यापार आक्रामक भएको तर्क गरेका थिए । 

तर, कलाकार पुगेका हलमा बाहेक अन्य हलमा फिल्मको व्यापार सुखद छैन । साथै, अधिकांश हलले फिल्मलाई निकै कम शो दिएका कारण पनि यसको व्यापार आशातित हुन नसकेको हो । 

शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म यो फिल्मले करिब ५ लाखको ग्रस कलेक्शन गरेको बक्स अफिस श्रोतले जानकारी दिएको छ । 

फिल्मले आक्रामक ओपनिङ गर्ने अपेक्षा यसको निर्माणपक्षलाई थियो । तर, प्रिमियरमा आएको कमजोर प्रतिक्रिया, समीक्षकले दिएको कमजोर रेटिङले फिल्मको व्यापारमा प्रभाव परेको छ । 

फिल्मको प्रचारमा यसका मुख्य २ कलाकार सलोन बस्नेत र केकी अधिकारीले कुनै कसर छाडेका थिएनन् । यतिमात्र होइन, फिल्मको प्रचारमा सलोनको परिवार नै लागिपरेको थियो । 

सलोनकी धर्मपत्नी करिश्मा केसी र बहिनी सलिना बस्नेतलाई उपस्थित गराएर लिइएका युट्युब अन्तवार्तामा भ्यूज राम्रै आएपनि त्यसको प्रभाव बक्स अफिसमा देखिएन । साथै, सलोनका काका कलाकार जयकिशन बस्नेतले पनि यो फिल्मको टिकटकबाट आक्रामक प्रचार गरेका थिए । यसका बाबजुत पनि टेक पौरखी राइको निर्देशनमा बनेको फिल्मलाई दर्शकले अपेक्षा गरे अनुसार विश्वास गरेको देखिएन । 

शनिबार हल पुगेका नायक सलोन बस्नेतले दर्शकले दिएको मायाले बल्ल आफूले श्वास फेर्न सकेको बताएका थिए । यता, प्रस्तुतकर्ता शोभित बस्नेतले पनि केकी र सलोनमाथि फिल्म चल्नु अगाडि आम फिल्मीकर्मीले विश्वास नगरेको भन्दै दर्शकले भने साथ दिएको प्रतिक्रिया दिएका थिए । 

तर, बक्स अफिस आँकडाले भने सलोन र शोभितले दाबी गरेको भन्दा विल्कुलै फरक कुरा बोलेको छ ।