सारूकको आत्महत्याको ५३ दिन सम्म मौन, बाबुको निधनपछि दिइन नम्रताले श्रद्धाञ्जली
असार २१ गते आफ्नो निवासमा आत्महत्या गरेको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका बाबु तथा कलाकार सानु ताम्राकारको शनिबार भएको निधनमा अभिनेत्री नम्रता श्रेष्ठले श्रद्धाञ्जली दिएकी छन् ।
'रेस्ट इन पिस बैकुण्ठ बास होस।। सम्पूर्ण परिवार मा धैर्य धारण गर्ने शक्ति मिलोस ११', नम्रताले आफ्नो फेसबुकमा लेखेकी छन् ।
सारुकको निधनपछि सार्वजनिक जीवन तथा सामाजिक संजालमा कुनै उपस्थित नजनाएकी नम्रताले आज आफ्नो फेसबुकमार्फत सारुक र सानुको फोटो राख्दै श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
सारुकले आत्मह्त्या गरे लगत्तै सारुको घर पुगेर सारुकको कोठामा समेत पुगेकी उनी सारुकको अन्तिम बिदाइमा सबै आर्यघाट पुग्दा गएकी थिइनन् । उनीसँगै 'ह्यासट्याग माया'मा काम गरिरहेका अभिनेता रोयदिप श्रेष्ठ पनि गएका थिएनन् ।
सारुकको आत्महत्यापछि घटनामा नम्रता र रोयको भूमिका शंकास्पद रहेको आशंका रहँदै आएको छ । नम्रता र सारुकबीच अफेयर रहेको र बिगत केही वर्षदेखि सँगै बस्दै आएका उनीहरुबीच 'ह्यास ट्याग'मायाको सुटिङका बेला झगडा परेको सार्वजनिक भएको थियो ।
साँझ एक पारिवारिक समारोहमा आफू पछि आउने भनेका सारुकले सुटिङबाट फर्किएको केही समयपछि आत्महत्या गरेका थिए ।
सारुकले के कति कारणले आत्महत्या गरे भनेर हालसम्म कुनै ठोस कुरा सार्वजनिक भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताए पनि सारुकको सुसाइड नोट सार्वजनिक गर्ने बाहेक कुनै सूचना दिएको छैनन् ।
प्रहरीले अभिनेत्री नम्रता विरुद्ध किटानी जाहेरी दिन पुगेकी सारुककी आमा रुकमिणी ताम्राकारलाई आत्महत्या लगत्तै दिइएको जाहेरी प्रहरी अनुसन्धानका लागि पर्याप्त रहेको बताउँदै किटानी जाहेरी दिन नपर्ने भन्दै फर्काइ दिएको थियो ।
प्रहरीले प्राप्त गरेको सारुकको मोबाइलबाट प्राप्त सुसाइडनोटमा ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु, सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ’, लेखेका थिए ।
उनको आत्महत्यापछि सारुककी साथीसमेत रहेकी अभिनेत्री मलिना जोशीले सारुकले न्याय पाउनुपर्ने भन्दै सामाजिक संजालमा आवाज उठाएपछि सारुकसँग नजिक रहेका अन्य अभिनेत्रीहरूले पनि न्यायको माग गरेका थिए ।
हिजो उपचारका क्रममा दिवंगत भएका सानु ताम्राकारले आफू निकटका आफन्त र फिल्मर्मीसँग उनको मृत्यु कारण जान्ने इच्छा रहेको बताउने गरेका थिए ।
छोराको मृत्युपछि शोकमा रहेका उनलाई मृगौलाको समस्या थियो। २४ दिनदेखि उनको नर्भिक अस्पतालमा उपचार चलिरहेको थियो ।
७४ वर्षीय सानुको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
प्रतिक्रिया