बक्स अफिसमा अर्को हरिबिजोगः ‘महानगर’को अकुपेन्सी ४ प्रतिशत, हलबाट उत्रियो


गत हप्ताको शुक्रबार रिलिजमा आएका दुई फिल्म ‘हिड्दा हिड्दै र जुलेबी’ एक साता पनि हलमा टिकेनन् । यी दुबै फिल्मको बक्स अफिसमा व्यापार १ लाख पनि कट्न सकेन । यो बर्ष नै रिलिजमा आएको फिल्म ‘ए साथी सुन’पछि यी दुई फिल्मले खराब व्यापार गरेका थिए । 

अब, शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘महानगर’को व्यापार झनै कमजोर देखिएको छ । मोहन राइको निर्देशनमा महानगरको कथावस्तु समावेश गरि तयार पारिएको फिल्ममा कर्मा र मेनुका प्रधान जस्ता कलाकारले अभिनय गरेका छन् । तर, फिल्मको अकुपेन्सी ४ प्रतिशत मात्र छ ।

रिलिजको २ दिनमा करिब २४ हजारको ग्रस कलेक्शन गरेको यो फिल्मलाई अधिकांश मल्टिप्लेक्सले आजबाट उतारेका छन् । फिल्म २ दिन पनि राम्रोसँग हलमा टिक्न सकेन । 

फिल्मले विभिन्न देशमा आयोजित महोत्सवमा पुरस्कार समेत प्राप्त गरेको थियो । तर, प्रचारमा निकै फितलो हुँदा दर्शकले फिल्म आएको र गएको पनि थाहा पाउन सकेनन् । 

नेपाली फिल्मको बक्स अफिस निकै पीडादायी पनि हुने गर्दछ भन्ने उदाहरण ‘महानगर’ बनेको छ ।