फिल्म 'महापुरुष' अब सिनेमाघर एपमा हेर्न पाइने
हल रिलिजमा सुपरहिट भएको नेपाली फिल्म 'महापुरुष' नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।
शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टीमले यसबारेमा जानकारी गराएको छ । यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ ।
सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । हालसम्म सात लाख बढि एप डाउनलोड भइसकेको जनाए । लामिछानेले यूट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको बताए ।
अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ ।
महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटिटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भइसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।
अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए । यसअघि फिल्म 'जात्रै जात्रा' निःशुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिति बदलिएको जिकिर गरे । उनले दर्शकले सोच्ने तरिका बदलेको बताउँदै सिनेमाघर एपमा 'महापुरुष' सफल हुने विश्वास जनाए ।
सिनेमाघर एपका चिफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । अबदेखि सिनेमाघरले एलजि, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको उनले बताए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेविट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिने सेवा सुरू भएको बताए । सन् २०१६ देखि सञ्चालित नेपालको पहिलो ओटीटी प्लाटफर्म 'सिनेमाघर एप'का प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् ।
यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा 'महापुरुष'का अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दिपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया