अभिनेत्री सृष्टी भन्छिन् - 'सारुक यो दुनियाँमा छैन भन्ने कुरा पत्याउन गाह्रो भइरहेको छ'

नायक सारुक ताम्राकारको निधन भएको आज ५० औँ दिन पुगेको छ । सारुकले गत असार २१ गते आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए ।

सारुकले त्यस बेला फिल्म ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए । तीन वर्षदेखि मेहनत गरिरहेका सारुकको फिल्मको छायांकन हुँदा हुँदै निधन भएपछि यो प्रोजेक्ट रोकियो । सुटिङको क्रममा नै आत्महत्या गरेपछि निर्माण पक्षले उनले के-काम गरिरहेको थियो भन्ने देखाउनलाई सारुकले अभिनय गरेको अन्तिम गीत ‘माया’ सार्वजनिक गर्यो ।

बिहीबार सारुकलाई ट्रिब्युट गर्ने भन्दै फिल्म ‘ह्यासट्याग माया’का केही दृश्यहरू समावेश गरिएको गीत सार्वजनिक कार्यक्रममा उनका निकटस्थ साथीभाइ, आफन्त, कलाकार र फिल्मका केही टिमको उपस्थित रहेका थिए । 

फिल्मका निर्देशक राजीव गुरुङले सारुकको अन्तिम काम कुनै न कुनै रूपमा आउनुपर्छ भनेर फिल्मका लागि खिच्न ठिक्क परेको भिडियो सार्वजनिक गरेको बताए । 

भिडियो सार्वजनिक कार्यक्रममा अभिनेता सारुकसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टि श्रेष्ठ र सारुककी आमा रुकमणि ताम्राकारले साथी र छोरालाई सम्झने क्रममा भक्कानिए पछि कार्यक्रममा उपस्थित धेरैका आँखा ओभाना रहेनन् । 

कार्यक्रममा अभिनेत्री सृष्टीले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । सारुकसँग जोडिएका सम्झना आइरहेका बताउँदै उनले हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्विकार्न गाह्रो भइरहेको र हाम्रो साथीले के-कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग रहेको समेत बताइन ।

अभिनेत्री सृष्टीले भन्छिन्, ‘सारुककाबारेमा मैले भन्ने भनेकै शब्द याद गर्ने हो । सारुक भनेको हामी अलिक दुखी भयौ भने पनि उसले सबैलाई सम्झाउने गर्थ्यो । हाम्रो ग्रुपमा लाइफको लो प्वाइन्टमा हुँदा उसले नै काउन्सिल गर्दथ्यो । उसले नै सबै जनालाई अपलिफ्ट गर्थ्यो । उसले त लाइफ भनेको त जिउनु पर्छ आफ्नो सपनाहरू पुरा गर्नुपर्छ हाम्रो लागि उ एउटा पोजेटिभ मान्छे हो । तपाइहरूले कोही पनि मान्छे भेटाउनु हुन्न जसले सारुकको बारेमा नराम्रो भन्ने होला । उ त्यस्तै नै थियो । जहाँ पनि जान्थ्यो सबै जनामा माया र सर्पोट गर्थ्यो ।’

साथै सृष्टीको बुझाइमा, ‘कति कुराहरू उसका सानो छदा देखिका तस्बिर हेर्नु भयो भने उ दुखी भएको रुँदै गरेको फोटो भेटाइँदैन सबैमा हाँसी रहेको सबै जना परिवारसँग नाच्दै त्यसता तस्बिरहरूमा छन्, जहाँ सम्झनाहरू छन् । हामी सबै जनालाई पनि उसैले कनेक्ट गराउँथ्यो । हाम्रो समूहमा साथीहरूलाई हेर्दा को कहाँको, को कुन क्षेत्रको हुन्थ्यौ । तर उ त्यस्तो थिएन उसै ले कसैलाई पनि जर्ज गरेन । उसले मान्छेको मन हेर्थ्यो र मान्छेको मनलाई माया गर्थ्यो उ त्यही नै थियो । हाम्रो लागि सारुक भनेको माया थियो जस्तो लाग्छ ।’ 

सृष्टी अगाडि भन्छिन्, ‘हामी अझै पनि सक्ट छौँ । मलाई अझै पनि विश्वास लाग्दैन उ छैन भनेर । हामीलाई कहिले कहिले यतै कतै छ जस्तो लाग्छ । तर जे जस्तो भए पनि अब स्वीकार गर्नै पर्छ । जे जस्तो भए पनि सत्य भन्ने कुरा जहिले पनि अगाडि आउँछ ढिलो चाँडो भन्ने कुरा हो । मलाई पुरै भगवान् र युनिर्भसमा पनि विश्वास छ सारुकलाई पनि थियो । तर पनि उसलाई अन्तिम समयमा के भएको थियो, हामी सबै जान्न चाहन्छौँ । प्रहरीले राम्ररी अनुसन्धान गरोस् ।’