सारुक ताम्राकारले न्याय पाउनु पर्छ : मोहन निरौला

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिवंगत अभिनेता सारुक ताम्राकारले न्याय पाउनुपर्ने बताएका छन् । उनले गत २१ असारमा रातोपुल स्थित आफ्नै निवासमा आत्महत्या गरेका अभिनेता सारुकले न्याय पाउनुपर्ने बताएका हुन् । 

बिहीबार काठमाडौँमा आयोजित सारुक अभिनीत अन्तिम फिल्म ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भइसक्यो । उहाँहरू सरुकलाई गुमाउँदा जुन पीडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’ उनले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरे । 

सोही कार्यक्रममा सारुककी आमा रुकमणिले पुत्र वियोगकै कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको जानकारी गराइन् । उनले भनिन्,'सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गर्दछौँ । छोरा गुमाएकी छु, के कति कारणले उसले संसार छाड्नु पर्यो भन्ने जान्न पाउने अधिकार छ ।’  

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा फिल्म नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए ।  

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।  

फिल्म ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ’मेरी मामू’, ’इन्टु मिन्टु लन्डनमा’ लगायतका फिल्ममा अभिनय गरेका छन्  ।