प्रिमियरमा ‘जय हो’को छायांकन पक्षको प्रशंसा


शोभित बस्नेतको प्रस्तुतिमा सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘जय हो’को बुधबार रञ्जना सिनेप्लेक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो । 

२ घन्टा १५ मिनेट लामो फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, माओत्से गुरुङ र निशा अधिकारीको मुख्य भूमिका छ । टेक पौरखी राइको निर्देशनमा तयार भएको फिल्मले प्रेमकथालाई बोलेको छ । 

फिल्म हेरेर निस्किएका अधिकांश फिल्मीकर्मीले यसको छायांकन पक्षको प्रशंसा गरेका छन् । पोखरादेखि मुस्ताङसम्मको आकर्षक लोकेशनलाई छायांकार सौरभ लामाले गज्जबले पर्दामा उतारेको अधिकांशको प्रतिक्रिया थियो । 

फिल्म हेरेर निस्किएका कलाकार हरिवंश आचार्यले शोभितको फिल्म सबै दृष्टिकोणबाट उत्कृष्ट रहेको बताए । फिल्ममा कलाकारको अभिनय, कथावस्तु, छायांकनपक्ष सबै दर्शकको मन छुने रहेको हरिवंशको प्रतिक्रिया थियो । 

फिल्म हेरेर निस्किएकी नायिका पूजा शर्माले सौरभ लामाको कामको प्रशंसा गरिन् । साथै, उनले फिल्ममा कलाकारले पनि राम्रो काम गरेको बताइन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि फिल्मको प्रशंसा गरेका थिए । उनले, फिल्मको लोकेशन, कथावस्तु, कलाकारको अभिनय सबै मन परेको प्रतिक्रिया दिए । 

नायिका गौरी मल्ल, निर्मात्री पूनम गौतम, निर्देशक नरेश पौड्याल लगायतले पनि फिल्मको हरेक पाटोको प्रशंसा गरेका थिए । गौरी मल्लले नायिका केकी अधिकारीको अभिनयको खुलेरै प्रशंसा गरिन् । 

भोलीबाट रिलिज हुन लागेको यो फिल्मले  प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । देशभरका हलमा औषत शोज पाएको फिल्मले दर्शकको साथ कस्तो पाउने हो, त्यो भोली नै थाहा हुनेछ ।