‘गणपति’बाट ‘चोपेन्द्र’को परिचय फेरिने आशामा मुकुन

फिल्म ‘बुलबुल’ले कलाकार मुकुन भुषालको परिचय फेरिदियो । कुनै समय फिल्म हेर्दा बाबु आमाको कुटाई खाएका मुकुन आज फिल्मको कलाकार बनेका छन् त्यो पनि व्यस्त । ‘बुलबुल, झिंगे दाउ’ लगायतका फिल्म सफल भएपछि मुकुनको व्यस्तता पनि बढेको छ । फिल्म ‘बुलबुल’ रिलिज भएपछि धेरैले उनलाई ‘चोपेन्द्र’को नामबाट चिन्ने गरेका छन् ।

तर, अब मुकुन फिल्म ‘गणपति’बाट आफ्नो ‘चोपेन्द्र’को परिचय फेरिनेमा आशावादी छन् । मिडिया कुराकानीमा उनले भने–‘पक्कै पनि, एउटा कलाकार ६–६ महिनामा आफ्नो परिचय फेरियोस् भन्ने चाहन्छ । यसले, उसलाई काम गर्न अझै उर्जा पैदा गर्छ । मैले, ‘गणपति’मा पाएको भूमिका साच्चिकै विशेष छ । यसबाट मेरो परिचय पनि बदलिनेछ भन्नेमा आशावादी छु ।’

यो फिल्मको शिर्ष भूमिकामा मुकुनले काम गरेका छन् । मुकुनका अनुसार, यो फिल्म भित्र उनी ‘बिचरा’ पात्रमा छन् । उनी भन्छन्–‘समाजले एउटै व्यक्तिलाई भगवान् रहेको थाहा पायो भने कस्तो व्यवहार गर्छ अनी मान्छे भएको थाहा पाएपछि व्यवहारमा कसरी परिवर्तन गर्छ भन्ने कथा फिल्ममा देखाइएको छ । यो हाम्रो समाजको कथा हो । समाज भित्र यस्ता कैयौं पात्रहरु छन् । जसको कथा यो फिल्मले भनेको छ ।’

निर्देशक सविन अधिकारीले आफूले आफ्नै गाउँमा देखेको कथालाई फिल्ममा प्रस्तुत गरेको सुनाए । फिल्ममा मेनुका प्रधान, देवेन्द्र बब्लु लगायतका कलाकारको पनि अभिनय छ । 

फिल्मको ‘उन भित्र’ बोलको गीतको पुरा अंश सार्वजनिक नहुँदै टिकटकमा केही अंश हिट छ । यो गीतले पनि फिल्मलाई फाइदा पुग्नेमा निर्माणपक्ष विश्वस्त छ । रामप्रसाद रिजाल यो फिल्मका निर्माता हुन् ।