सुरक्षा पन्तः कमर्सियल फिल्मबाट हिट, फरक कथामा फिट

नायिका सुरक्षा पन्तको चर्चा विशेषगरि, भिन्न खालका कथामा बन्ने फिल्ममा अभिनय गरेर हुने गर्दछ । सुरक्षालाई फिल्ममा अफर गर्न आउने निर्माता पनि केही फरक कथा नै बोकेर आउँछन् । विशेषगरि, फिल्मी भाषामा भनिने कमर्सियल कथामा उनलाई अफर कमै आएको पाइन्छ । 

सुरक्षाको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दर्शकले दिँदै आएका छन् । विशेषगरि, सुरक्षाले यो प्रतिक्रिया ‘आमा’ फिल्ममा काम गरेपछि पाएकी हुन् । म्युजिक भिडियोमा पनि सुरक्षालाई मेकरहरु रोमान्टिक अवतारमा देखाउन खोज्दैनन् । उनलाई गम्भिर अभिनय गर्नुपर्ने कथामा नै भिडियो मेकरले खोजेको पाइन्छ । 

सुरक्षा पन्त फरक कथामा फिट छिन् । तर, उनको सफलता पनि कमर्सियल फिल्मबाट नै बढी भएको पाइन्छ । दीपेन्द्र के खनाल जस्ता सफल निर्देशकले बनाएको फिल्म ‘आमा’ उनको हिट फिल्म हो । यस्तै, उनले नै अभिनय गरेको ‘चंगाचेट, के घर के डेरा’ लगायतका फिल्मले पनि बक्स अफिसमा राम्रो चर्चा पाए । 

तर, सुरक्षालाई केही निर्देशकले भने फरक कथामा प्रस्तुत गर्न खोजे । ती कथामा सुरक्षा बक्स अफिसमा सफल हुन सकिनन् । गतबर्ष रिलिज भएको ‘बहाब’ होस् या यो बर्ष रिलिज भएको ‘बुलाकी र गुलाबी’ नै किन नहोस् ।

सुरक्षाका लागि बक्स अफिस सफलता चुनौती बनेर आइदिएको छ । निरन्तर फिल्म असफल हुँदा कलाकारलाई पनि निकै गाह्रो पर्ने गर्दछ । तर, सुरक्षालाई बक्स अफिस सफलता पाउन नै मुस्किल परिरहेको छ । 

केही समय अगाडि एक अन्तवार्तामा मेरो फिल्मसँग कुरा गर्दै सुरक्षाले कमर्सियल फिल्म बनाउने मेकरले आफूलाई लिन नचाहेको र आफू फिल्म क्षेत्रमा बायकट ग्याङको शिकार बनेको गुनासो गरेकी थिइन् ।