कृषालाई निर्देशनमा नयाँ परिचय बनाउने अवसर
उसो त, कलाकार होस् या निर्देशक । कसैलाई पनि लैङ्गिताका आधारमा परिचय दिनु उपयुक्त हुँदैन ।
नायिका, नायक, निर्मात्री, निर्माता, महिला निर्देशक, पुरुष निर्देशक भन्दै परिचय आवश्यक होइन । तर, पनि नेपाली फिल्म क्षेत्रमा यी शब्दावलीहरू प्रयोग भइरहेका छन् ।
फिल्म निर्माणबाट निर्देशनमा हाम फाल्दै गरेकी कृषा चौलागाँइका लागि फिल्म क्षेत्रमा नयाँ परिचय बनाउने अवसर छ । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एैँचो पैँचो’ले उनलाई यो अवसर श्रृजना गरिदिएको छ ।
नेपालमा फिल्म निर्देशनमा जसरी पुरुषहरु हाबी छन्, महिलाहरूको संख्या औँलामा सहजै गन्न सकिने खालको छ ।
सुचित्रा श्रेष्ठले सुरु गरेको फिल्म निर्देशनको यात्रामा थोरै मात्र महिलाहरू सहभागी छन् । तर, अधिकांशको करिअर तीब्र गतिमा अगाडि बढेको छैन ।
फिल्म निर्देशनमा रेखा थापा, दीपा बस्नेत, संझना उप्रेति रौनियारहरु अगाडि देखिएपनि, सफलता पाउन सकेका छैनन् । नायिकाबाट निर्देशक बनेकी झरना थापा एउटै ब्यानरमा सीमित छिन् । बक्स अफिसमा उनको सफलता भने सुखद छ । दीपाश्री निरौलाले पनि नयाँ ब्यानरमा हात हाल्न सकेकी छैनन् । बक्स अफिसमा सर्वाधिक सफल निर्देशकको छाप बनाए पनि दीपाश्रीलाई बाहिरी ब्यानरले अफर गरेको देखिँदैन ।
यही भिडमा फिल्म निर्माणमा ब्यहोरेको तितो अनुभव संगाल्दै कृषाले फिल्म निर्देशनको यात्रा सुरु गरेकी छिन् । उनी, यसमा सफल भइन् भने उनका लागि मात्र नभएर फिल्म क्षेत्रका लागि पनि नयाँ आयाम कोरिनेछ । यसैले, फिल्म ‘एैँचो पैँचो’ कृषाको निर्देशकीय यात्राका लागि विशेष र संझनायोग्य छ ।
प्रतिक्रिया