विपिनको अनुहार बिक्दा ओझेलमा सुहाना र स्वस्तिमा

भदौको १ गते २ वटा फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन र एक भगवत् गीता’को फस्टलुक सार्वजनिक भयो । दुबै फिल्मको फस्टलुक सार्वजनिक भएपछि नायक विपिन कार्कीको सर्वत्र चर्चा भइरहेको छ ।

‘पशुपति प्रसाद २ः भष्मे डन’ले त पोष्टर सार्वजनिक भएसँगै बम्पर व्यापार गर्ने संकेत गरिसकेको छ । तर, विपिनको सर्वत्र चर्चा भइरहँदा विल्कुलै फरक भूमिकामा देखिएकी नायिका स्वस्तिमा खड्काको गेटअप भने ओझेलमा परेको छ । यो फिल्ममा स्वस्तिमा दुर्गा माताको अवतारमा छिन् । पोष्टरमा उनलाई पनि निर्देशकले स्थान दिएका छन् । तर, बजारमा उनको चर्चा खासै भएन ।

यसको पछाडि २ कारण छन् । एक त, यो फिल्म विपिन कार्की केन्द्रित छ, यसैले उनको मात्र चर्चा भइरहेको छ । अर्को, स्वस्तिमाको गेटअप फिल्म छायांकनका क्रममा नै सार्वजनिक भएकाले पोष्टरमा आउँदा दर्शकले खासै ध्यान दिएनन् ।

यस्तै, फिल्म ‘एक भगवत् गीता’को पोष्टर सार्वजनिक भएसँगै नायक विपिन कार्कीको गेटअपको चर्चा भयो । यो फिल्ममा विपिन ‘कमलामाई’को भूमिकामा छन् । झरना थापाको निर्देशनमा सुनिल कुमार थापाले निर्माण गरेका अघिल्ला फिल्महरु ‘ए मेरो हजुर ३ र ४’को पोष्टर सार्वजनिक हुँदा नायक अनमोल केसीलाई नायिका सुहाना थापाले ओझेलमा पारेकी थिइन् । तर, यसपटक पोष्टर र टिजर सार्वजनिक हुँदा विपिन एकलौटी हाबी भइरहेका छन् । सुहाना र नायक धिरज मगर पुरै ओझेलमा परेका छन् ।

निर्माणपक्षले फिल्मको टिजरमा विपिनलाई सार्वजनिक नगरि फस्टलुकमा मात्र उनलाई सार्वजनिक गरेको भए, यसको हाइप अझै बढ्ने थियो ।

२ वटा फिल्मको पोष्टर एकैदिन सार्वजनिक हुँदा दर्शक र मिडियाकर्मीको ध्यान विपिन केन्द्रित भएको छ । यसैले, फिल्ममा आफ्नो पनि बलियो उपस्थिति जनाउनकालागि स्वस्तिमा र सुहानाले अझै बढी मिहिनेत गर्नुपर्ने देखिन्छ ।