विदेशी फिल्म महंगो पर्न थालेपछि बक्स अफिस सार्वजनिक नगर्न दबाब

चलचित्र विकास बोर्डले नेपाली तथा विदेशी फिल्मको ग्रस कलेक्शन सार्वजनिक गर्न थालेपछि फिल्म क्षेत्रमा विरोध र समर्थनको स्वर सुन्न थालिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसी नियुक्त भएसँगै उनले बक्स अफिस कलेक्शन सार्वजनिक गर्न थालेको हो । यसले, निर्माताले फिल्मको व्यापार मन लाग्दी सार्वजनिक गर्ने क्रम रोकिएको छ । साथै, विदेशी फिल्मको समेत वास्तविक कलेक्शन सार्वजनिक हुन थालेका छन् ।

यसले, विदेशी बजारबाट फिल्म किन्ने वितरकहरुलाई हैरान बनाउन थालेको छ । विशेषगरि, विदेशी फिल्मका वितरकले समेत नेपालमा फिल्मले गर्ने व्यापारको आँकडा मिडियाबाट थाहा पाउन थालेपछि उनीहरु सचेत बनेका छन् । उनीहरुले, पछिल्लो समय फिल्मको मूल्य बढाउन थालेको बुझिएको छ ।

श्रोतका अनुसार, साहरुख खान अभिनीत फिल्म ‘पठान’ खरिद गर्नकालागि नेपाली वितरकले करिब ४ करोड बुझाउनु पर्ने अवस्था आएको छ । सस्तो रकममा भारतीय फिल्म खरिद गर्दै आएका नेपाली वितरकलाई अब विदेशी वितरकले महँगो रकम भन्न थालेका छन् ।

यसैले, विकास बोर्डले बक्स अफिसको रिपोर्ट सार्वजनिक गर्न रोक्नु पर्ने दबाब बोर्डमा पर्न थालेको छ । सुरुवाती समयमा हरेक महिना आँकडा सार्वजनिक गर्ने निर्णय गरेका अध्यक्ष भुवन केसीले अब ३ महिनामा मात्र आँकडा सार्वजनिक गर्ने निर्णय गरेका छन् । श्रोतले भन्यो–‘अहिले विदेशी फिल्म नेपाल भित्र्याउने वितरकहरुको चर्को दबाब बोर्डमा छ । यसैले, बोर्डमा आँकडा सार्वजनिक गर्ने र नगर्ने विषयमा बहस भइरहेको छ । हेरौँ, के निर्णय हुन्छ ।’