‘एैँचो पैँचो’ टिमसँग चित्त दुखाई छैनः वर्षा राउत

नायिका वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘एैँचो पैँचो’मा उनको भूमिका काटिएको खबर मिडियामा सार्वजनिक भए । यतिमात्र होइन, फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनी नआएपछि, फिल्मको टिमसँग उनको असन्तुष्टि हो कि भन्ने खालका प्रश्न समेत मिडियामा उठेका थिए ।

फिल्मको ट्रेलरमा वर्षालाई धेरै स्थान दिइएको छैन । यसैले, पनि उनी फिल्मको टिमसँग असन्तुष्ट रहेको खबर सार्वजनिक भइरहेका छन् ।

तर, फिल्मको प्रचारका क्रममा मिडियासँग कुरा गर्दै वर्षाले आफूलाई फिल्मको टिमसँग कुनै पनि खालको चित्त दुखाई नरहेको प्रष्ट पारेकी छिन् ।

वर्षाले भनेकी छिन्–‘यदि, सुटिङको क्रममा नै मेरो भूमिका काटिएको थियो भने, आज म मिडियासँग फिल्मको प्रचारमा सहभागी हुन्नथ्ये होला । मलाई त निर्देशक कृषा चौलागाईंले अझै केही दृश्य खिच्न आग्रह गरिरहनुभएको छ । तर, मैले नै अब त भयो भनेर भनेकी हुँ ।’

नायिका राउतले यो फिल्म आफ्ना लागि महत्वपूर्ण रहेको समेत बताइन् । उनले भनिन्–‘यसपटक मैले केही राम्रो काम गरेकी छु कि जस्तो लागेको छ । फिल्मको टिमबाट पनि यस्तै प्रतिक्रिया पाइरहेकी छु । यसैले, अझै बढी आशावादी छु ।’

फिल्म ‘एैँचो पैँचो’ भदौको १४ गतेबाट रिलिज हुँदैछ । फिल्मको प्रचार सामाग्रीमा निर्देशक चौलागाईंले नायिका स्वस्तिमा खड्कालाई बढी ध्यान दिएको देखिन्छ । यसैले, पनि वर्षा फिल्मको प्रचारमा पछि देखिएकी हुन् कि भन्ने अनुमान मिडियामा लगाइएको हो । तर, वर्षा आफैले फिल्मको टिमसँग कुनै असन्तुष्टि नरहेको बताएर बजारमा चलेका गसिपहरुलाई विश्राम लगाएकी छिन् ।