बक्स अफिसमा ‘हिड्दा हिड्दै र जुलेबी’को कलेक्शन १ लाख पनि पुगेन
शुक्रबारदेखि रिलिजमा आएका २ नेपाली फिल्मले बक्स अफिसमा दयनीय व्यापार गरेका छन् । शुक्रबारदेखि रिलिजमा आएका २ फिल्म ‘हिड्दा हिड्दै र जुलेबी’को अकुपेन्सी १० प्रतिशत पनि रहन सकेन । शुक्रबार र शनिबार नै दुबै फिल्मले बक्स अफिसमा खराब व्यापार गरेका छन् ।
श्रोतका अनुसार, शुक्रबारदेखि रिलिजमा आएका गणेशदेव पाण्डे निर्देशित फिल्म ‘जुलेबी’को अकुपेन्सी ९ प्रतिशतको हारहारीमा छ । फिल्मले आइतबार बिहानसम्म बक्स अफिसमा करिब ९३ हजारको ग्रस कलेक्शन गरेको छ । यो फिल्ममा सुरक्षा पन्त, सुशिल सिटौला, निशा अधिकारी, उषा रजक लगायतका कलाकारको अभिनय छ ।
यता, शुक्रबारदेखि नै रिलिजमा आएको मिलन आले मगर निर्देशित फिल्म ‘हिड्दा हिड्दै’ले बक्स अफिसमा २ प्रतिशतको अकुपेन्सी कायम गरेको छ । फिल्मको व्यापार निकै कमजोर हुँदा निर्माणपक्षले ठूलो घाटा व्यहोर्ने देखिएको छ । यसले ३० हजार रुपैयाँ पनि कटाउन सकेको छैन ।
आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान लगायतका कलाकारको अभिनय रहेको फिल्मले हलमा निकै कम शोज पाएको थियो । पाएका शोजमा पनि दर्शकको उपस्थिती न्यून देखियो ।
भदौबाट रिलिजमा आएका फिल्मले बक्स अफिसमा सुखद कमाई गर्दै नेपाली फिल्ममा देखिएको व्यापारको खडेरी केही हदसम्म चिर्ने देखिएको थियो । तर, भदौको पहिलो दिनमै रिलिज भएका दुबै फिल्मले बक्स अफिसमा २ दिनमा १ लाख ग्रस कलेक्शन पनि गर्न सकेनन् ।
प्रतिक्रिया