सलोन जस्ता कलाकारलाई फिल्ममा भूमिकाको दबाब थोपर्नु हुँदैनः केकी अधिकारी


नायिका केकी अधिकारी र नायक सलोन बस्नेत हिजो आज एक अर्काको प्रशंसा गरेर थाक्दैनन् । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘जय हो’को प्रचारमा दौडधुप गरिरहेका सलोन र केकी एक अर्काको प्रशंसामा समय खर्चिरहेका हुन्छन् । यसैबिच, नायिका केकी अधिकारीले सलोनको प्रशंसा गर्दै उनी जस्ता कलाकारलाई बक्स अफिस र भूमिकाको दबाब थोपर्न नहुने बताएकी छिन् ।

केकीले भनिन्–‘सलोन बस्नेतले फिल्ममा जति भूमिका पाउँछन्, एउटा दरिलो छाप छाडेर जान्छन् । यसैले, कलालाई वुझेको मानिसहरुले सलोन जस्ता कलाकारलाई भूमिकाको दबाब थोपर्नु हुँदैन । सलोनलाई जहिले फिल्ममा लिड भूमिका नपाएको, लिड भूमिका पाउँदा नचलेको जस्ता प्रश्न आउने गरेका छन् । यो गलत कुरा हो । उनी जस्ता कलाकारलाई यस्तो दबाब दिनु हुँदैन ।’

केकीले सलोन बस्नेतले बाल–कलाकारदेखि अभिनय गरेको भन्दै उनी बच्चामा हरेक बच्चाहरुको क्रस भएको समेत तर्क गरिन् । 

फिल्म ‘जय हो’ आफूले कथावस्तुकै कारण साइन गरेको उनको भनाई छ । केकीका अनुसार, जुन बिषयले उनलाई छोएको थियो त्यो कुरा फिल्मको ट्रेलरमा समावेश गरिएको छैन । फिल्म हेर्दा दर्शकलाई त्यो बिषयले सरप्राइज दिने केकीको भनाई छ । 

टेक पौरखी राई निर्देशित फिल्ममा फेरि एक पटक लभर गर्लको भूमिका निर्वाह गर्न पाउँदा केकी खुशी छिन् । उनले, आफ्नो करिअरमा कहि न कहि यस्ता भूमिका मिस भएको समेत तर्क गरिन् ।