नेपाली क्रिकेट खेलाडीले हेरे 'घुमर', दिए यस्तो प्रतिक्रिया

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीले आज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको स्पोट्स ड्रामा फिल्म 'घुमर' हेरेका छन् । 

राष्ट्रिय टोलीका २०-२० जनाको पुरुष र महिला खेलाडीले बिग मुभिज हलमा आयोजित विशेष शोमा यो फिल्म हेरेका हुन् ।

फिल्मका नेपाल वितरक गोविन्द शाहीले खेलाडीका लागि विशेष शो आयोजना गरेका थिए । 

राष्ट्रिय खेलाडीहरु सोमपाल कामी, भीम सार्की, प्रतिश जिसीको साथमा महिला टोलीका करुणा भण्डारी, कृतिका मरासिनी, सरिता मगर लगायतले फिल्म हेरे ।

फिल्मलाई आर बल्कीले निर्देशन गरेका हुन्।

'घुमर'मा अभिषेक बच्चनसँगै सैयामी खेर मुख्य भूमिकामा छिन् । खेरले फिल्ममा अनिका नामकी महिला क्रिकेटरको भूमिका निभाएकी छिन् । त्यस्तै, अभिषेक प्रशिक्षकको भूमिकामा छन् । 

No description available.

भारतमा फिल्मले राम्रो समीक्षा पाइरहेको छ।

फिल्मले भारतीय महिला क्रिकेट टोलीको हिस्सा बन्ने मौका निकट रहँदा दुर्घटनामा आफ्नो दाहिने हात गुमाएपछि जिन्दगीसँग हार खाइसकेकी अनिकाले कसरी कठिन संघर्षको बीच कडा परिश्रम र कोचको हौसलाबाट देशका लागि क्रिकेट खेल्ने अवसर पाउँछिन् भन्ने कथा पेस गर्छ । 

फिल्म रिलिजको पूर्वसन्ध्यामा अभिनेता अभिषेक बच्चनले एक भिडियो मार्फत आफ्नो फिल्म हेर्न आग्रह गर्दै एसिया कप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोलीलाई शुभकामनासमेत दिएका थिए। त्यसक्रममा उनले आफू बाल्यकालमा नेपाल आएको सम्झना गर्दै पुनः नेपाल आउने इच्छासमेत व्यक्त गरेका थिए।

फिल्म हेरिरहँदा खेलाडीहरु भावानात्मक दृश्यहरुमा भावुक बनेका थिए। फिल्म हेरेपश्चात उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।
उनीहरुले राम्रो फिल्म भएकाले सबैलाई हेर्नसमेत आग्रह गरे ।

No description available.