‘रावायण’मा प्रमोदको इन्ट्री, कलाकारको लाइनअप यस्तो
निर्देशक सुदर्शन थापाले फिल्म ‘रावायण’को कथावस्तुसँगै कलाकारको लाइनअप पनि बलियो बनाउने छनक दिएका छन् । एकपछि अर्का सशक्त कलाकारहरुलाई फिल्ममा अनुवन्धित गर्दै उनले ठूलो क्यानभासमा फिल्म बनाउन लागेका हुन् । फिल्ममा नायक अनमोल केसी, नायिका नीति शाह, शिल्पा मास्के फाइनल भैसकेका छन् ।
यसपटक सुदर्शनले फिल्ममा नायक अनमोल केसीलाई दोहोरो भूमिकामा देखाउँदैछन् । फिल्ममा अनमोल नायक र खलनायक दुबै भूमिकामा देखिन लागेका हुन् । फिल्ममा सशक्त अभिनय गर्ने कलाकारद्धय कामेश्वर चौरासिया र प्रमोद अग्रहरिको पनि प्रवेश भएको छ । यसले फिल्मको कलाकारको लाइनअप अझै बलियो बनाएको छ ।
निर्मात्री सुप्रिया कटुवालका अनुसार अझै केही कलाकार फाइनल हुन बाँकी नै छ । यो महिनाबाटै छायांकन सुरु गर्ने बताइएको फिल्ममा शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, विक्रम स्वारको कोरियोग्राफी रहने पक्का भएको छ ।
लभ स्टोरी फिल्ममा आफूलाई अब्बल साबित गरेका निर्देशक थापाले यसपटक अनमोल केसीलाई एक्सन र लभ स्टोरी अवतारमा उतार्दैछन् । लामो समयदेखि सुदर्शन र अनमोलले पर्दामा एकसाथ काम गर्ने तयारी गरेपनि जुरेको थिएन । तर, यसपटक भने सफल निर्देशक र सफल नायकको टिमअप पक्का भएको हो ।
प्रतिक्रिया