ट्रेलरपछि बढ्यो ‘गणपति’को माग, विश्व बजारमा रिलिज पक्का


भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएसँगै यसलाई लिएर आम दर्शकमा उत्साह बढेको छ । विशेषगरि, फिल्मले उठान गरेको बिषयवस्तुले दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको हो । 

ट्रेलरले फिल्मको माग नेपाली बजारमा मात्र नभएर विदेशी बजारमा पनि बढाएको छ । साथै, फिल्ममा समावेश ‘उन भित्र’ बोलको गीत पनि सार्वजनिक नहुँदै चर्चामा आएको छ । यो गीतको सानो अंश ट्रेलरमा समावेश गरिएको थियो । 

यो फिल्मलाई अब सेभेन सिज इन्टरटेन्मेन्टले विश्व बजारमा रिलिज गर्ने भएको छ । यही फिल्मबाट सेभेन सिजले ओभरसिजमा नेपाली फिल्मको वितरण समेत सुरु गरेको हो । 

दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन् । सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार विदेशी अधिकार खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो । ‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १ बाट रिलिजमा आउने छ । यस्तै, मध्य पूर्वका देश, न्यूजिल्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ । यस्तै, अन्य केही देशमा पनि चाडै प्रदर्शन मिति तय गर्ने बताइएको छ ।

सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल, प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अबधारणा र लगानीमा स्थापना गरिएको फिल्म बितरण कम्पनी हो । नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र लागिरहेको यो कम्पनीले निर्माणाधिन थुप्रै फिल्मको अन्तराष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ । 

‘हामी बिषय र मेकिङमा बढी विश्वास गर्छौ, ‘गणपति’को बारेमा बताउँदै पौडेलले भने–‘यो फिल्मको बिषयवस्तु राम्रो लागेको र दर्शकले पनि रुचि देखाएकाले छोटो अबधिको तयारीमा यो फिल्म प्रदर्शन गर्न लागेका छौ ।’ सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् । कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सह–निर्मातामा बनिष शाह रहेको फिल्म हरिबहादुर घलेले खिचेको हुन । फिल्मका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ ।

बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।