फिल्म 'जुलेबी' र 'हिँड्दा हिँड्दै' प्रिभ्यु: व्यापार कस्तो होला ? दर्शकले मन पराउँछन् या पराउँदैनन् !

भोली शुक्रबारबाट नेपाली बक्सअफिसमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदै छन् । जसमा गणेशदेव पाण्डेले निर्देशन गरेको फिल्म 'जुलेबी' र मिलन आले मगर निर्देशित फिल्म 'हिँड्दा हिँड्दै' रहेका छन् ।

फिल्म 'जुलेबी'मा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ ।

फोरक्युब इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अञ्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको ध्वनि संयोजन छ । फिल्मकी निर्मात्री आभा शर्मा हुन् ।

फिल्मका लेखक तथा निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेको यो फिल्म पात्रहरूलाई रत्नपार्क जोड्ने र यौन मनोविज्ञानमा केन्द्रित रहेको छ । फिल्मको कथा सात जना पात्रहरूको सम्बन्धको वरिपरि घुमेको छ । यो फिल्मले फिल्म निर्देशक पाण्डेले आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा रहेको बताएका छन् । 

चार महिला पात्रको कथा रहेको फिल्ममा विभिन्न जिल्लाबाट आएका पत्रहरूलाई माध्यम बनाएर पेश गरिएको छ । यसअघि सार्वजनिक भएको ट्रेलर हेर्दा यो फिल्मले यौन एकातिर जीवनमा साथी खोज्ने कुरालाई आफ्नो मुख्य विषय बस्तु बनाएको देख्न सकिन्छ । 

निर्देशक पाण्डेले यस अघि फिल्म 'गाँजा बाजा' बनाउँदा दुई युवाहरूले गाँजाको खोजीमा हिँड्दा आइपर्ने विभिन्न घटनाहरूलाई रोचक ढंगले प्रस्तुत गरेका थिए । यस पटक त्यसतै खाले रोचक घटना जुलेबीले भन्छ भन्ने आश गर्न सकिन्छ । यो फिल्म मूलधारका फिल्म भन्दा अलिक फरक रहेको बुझ्न सकिन्छ । यसलाई एउटा तहका दर्शकहरुकालागि रुचिकर हुने देखिन्छ । 

त्यसो त यो फिल्मले माश अपिल गरिहाल्छ भन्ने स्थिति चाहिँ भन्न सक्ने अवस्था छैन । तर यो फिल्मले हाम्रो नेपाली समाजकै विषय उठाएको हुनाले एउटा तप्काका दर्शकलाई रामै आकर्षण गर्न सक्छ । फरक स्वाद खोजी रहने दर्शककालागि रोजाइमा पर्न सक्छ । 

एक थरी दर्शकहरूको पर्खाइ रहेको यस फिल्मले व्यापारका हिसाबले के गर्छ भन्ने कुरामा पर्सिका दिनबाट थाह हुनेछ । प्रचार प्रसारमा खासै आक्रामक नदेखिएकाले वर्डमाउथमा भर पर्नुपर्ने देखिन्छ । 

यो समाचार तयार पार्दासम्म फिल्म 'जुलेबी'का युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री हेर्दा तीन हप्ता अघि सार्वजनिक भएको टिजरको १ लाख ७१ हजार ९ सय ३४ भ्युज र १३ दिन अघि सावर्जनिक भएको ट्रेलरको तीन लाख ९ हजार ४ सय ५३ भ्युज गएको छ भने सात दिन अघि सार्वजनिक भएको 'आज मन' बोलको गीतको ६ हजार ८७ भ्युज गएको छ ।

यसै गरी अर्को फिल्म रहेको छ ‘हिँड्दा हिँड्दै’ । यस फिल्ममा अभिनेताद्धय आकाश श्रेष्ठ र सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाहको मुख्य भूमिका रहेको छ । जसमा कलाकार भोलाराज सापकोटाले पनि साथ दिएका छन् । 

नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतिकर्ता रहेको फिल्मका निर्माता राज लामा हुन् । त्यस्तै प्रमोद कुमार तामाङ र महादेव शाह सह निर्माता छन् ।

यो फिल्म रेगुलर आइरहेका फिल्म जस्तै छ । यसमा प्रेम र रोधनका दृश्यहरू रहेको छ । यसको सार्वजनिक ट्रेलरले मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ । यस फिल्मलाई देशका मुख्य मल्टिप्लेक्सहरुले अस्वीकार गरेको देखिन्छ । काठमाडौँको बानेश्वरमा रहेको वान सिनेमाज्ले मात्र नेपाली फिल्म हो भनेर माया गरेर शो दिए जस्तो देख्न सकिन्छ ।

वान सिनेमाज्ले बाहेक उपत्यकाका अन्य मल्टिप्लेक्सहरुले यो फिल्मलाई शो नै उपलब्ध गराएका छैनन् । उपत्यकाका बाहिर केही हलहरूले यो फिल्मलाई न्युनमात्रमा शो दिएका छन् । 

धेरै हलहरूले फिल्म माथि विश्वास नगरेको देखिएको यस्तो अवस्थाको यो फिल्मले बक्सअफिसमा भयकंर चल्ने र व्यापार गर्न सक्छ भनेर भनिहाल्ने अवस्था छैन । यसलाई पनि वर्ड अफ माउथ आवश्यक पर्ने देखिन्छ तर अहिलेसम्मको अवस्था हेर्दा फिल्मको यो भोलिकै दिन सम्म रहने र वर्ड अफ माउथको अवस्था नउब्जने देखिन्छ । 

फिल्मको जुन किसिमको सार्वजनिक ट्रेलर र मेकिङ छ यसबाट दर्शकलाई खासै गएर हेरी फिल्म हालौँ भन्ने आकर्षण किसिमको छैन । त्यसो त यस फिल्मको प्रचार खासै नगरेको र रिलिज मात्रै गरिएको देखिन जाँदा यो फिल्म पनि लगभग बक्स अफिसमा असफल हुने तय जस्तै देखिन्छ । 

‘हिँड्दा हिँड्दै’का युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री हेर्दा तीन हप्ता अघि सार्वजनिक भएको २ हप्ता अघि सार्वजनिक भएको ट्रेलरको यो समाचार तयार पार्दासम्म १ लाख २४ हजार ८ सय ८५ भ्युज गएको छ भने २० दिन अघि सार्वजनिक भएको 'हाँस्ने ओठहरू' बोलको गीतको १ लाख ६ हजार १ सय ८१ भ्युज गएको छ ।

भोली शुक्रवारबाट तपाईँहरूलाई यी दुई फिल्म मध्य कुन फिल्म तपाईंरूको रोजाइको र मन परेको छ भने  आफ्नो इच्छा अनुरूप हेर्न सक्नु हुनेछ । यसै गरी हलमा अघिल्लो हप्ताबाट रिलिज भएका हलिउड र बलिउडका फिल्महरू पनि छन् ।