'नाईं नभन्नु ल-६' फल्प भएपछि के गर्दैछिन् आँचल शर्मा ?

अभिनेत्री आँचल शर्माका लागि 'नाईं नभन्नू ल' सिरिजले सफलता र असफलताको दुवै स्वाद चखाएको छ।

'नाईं नभन्नू ल-४'ले उनलाई नेपाली रजतपटमा सफल डेब्यू गरायो जुन उनका लागि जीवनभर एउटा मीठो सम्झना भएको छ भने पछिल्लो छैटौँ श्रृंखला करियरको नमीठो याद बनेको छ। 

यो सिरिज थुप्रै हलहरूमा एक साता पनि मुस्किलले टिक्न सक्यो करिब २० लाखकै ग्रस कमाइमा प्याकअप भयो।

उनका निटकवर्तीका अनुसार 'नाईं नभन्नू ल-६'बाट उनले ठुलै आश राखेकी थिइन्। यो फिल्मबाट उनलाई एक्लो जस लिने मौका पनि थियो। अघिल्ला श्रृखंलाहरुमा स्टारहरूको भिड हुने गर्दा त्यो सम्भव थिएन। यस पटक डेब्यू अभिनेता आशिर्वाद क्षेत्रीसँग उनको जोडी कसिएको थियो जसका कारण कलाकारको भिडबाट एक्लो हुनुको फाइदा उनलाई मिलेको थियो तर सोचेजस्तो भएन।

फिल्ममा वक्सअफिसमा नराम्ररी पछारिएपछि आँचलको आगामी यात्रा कसरी तय होला भन्ने कौतूहलता धेरैलाई छ। यही कौतूहलता मेटाउन हामीले आँचललाई नै के गर्दै हुनुहुन्छ भनेर सोधेका थियौँ।

मेरो फिल्मसँगको संक्षिप्त कुराकानीमा उनले २-३ वटा फिल्मको स्क्रिप्ट पढिरहेको बताइन्।

'दुई-तीन वटा फिल्मको स्क्रिप्ट पढिरहेको छु', उनले भनिन्, 'हालै एक फिल्ममा काम गर्न लागेको भनेर समाचार बाहिर आइसकेको छ । अरू स्क्रिप्ट त्यो भन्दा बाहेकका हुन्।'

आँचलले पढिरहेका स्क्रिप्ट चित्त बुझेमा तीनमा काम गर्ने बताइन्। 'के कस्तो छ मलाई सुहाउने खालको रोल छ छैन पढिरहेको छु', उनले भनिन्।

यसै गरी आँचलले आफ्ना सामाजिक सञ्जालमा आफ्ना फिटनेस तथा मार्सल आर्ट सम्बन्धी स्टोरीहरूसमेत पोस्ट गरिरहेकी छिन्।

हामी कतै यो एक्सन फिल्मका लागि भइरहेको तयारी त होइन भनेर अर्को प्रश्न गरेका थियौँ। जवाफमा आँचलले आफूले फिल्म विशेष तयारी नभइ नियमित अभ्यास भएको बताइन्।

'अहिले मात्र होइन पहिला पनि मार्शल आर्टहरू सिक्ने गरेको थिए । त्यस बेला फिल्मको छायाकंन हुँदा हो छुट्ने, नत्र छुटाउने गरेको थिइन् । त्यसैको निरन्तरता हो । तर योसँगै कुनै बेला एक्सन फिल्मको कुरा आयो भने त्यसको पूर्व तयारीका रूपमा पनि बुझ्दा हुन्छ', उनले भनिन्।

आशा गरौँ, आँचलको यो तयारी एक्सन अवतारका रूपमा फिल्मी पर्दामा छिट्टै देख्न पाइयोस्। 

उनी अनुबन्धित भएको मुस्कान ढकालको 'पञ्चामृत'मा भदौदेखि फ्लोरमा जाने बताइएको छ।