‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ सार्वजनिक, तर साह्रै कमजोर

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । विशाल भण्डारी र उनको टिमले तयार पारेको यो शो बन्द भएसँगै यसको सिरिज प्रशारणमा आएको छ । 

कि इन्टरटेन्मेन्टले विशाल भण्डारी र उनको टिमलाई पाखा लगाउँदै सुरु गरेको शोमा यसपटक सभापतिको रुपमा राजाराम पौडेल छन् । कार्यक्रमको सञ्चालन भने यमन श्रेष्ठले गरेका छन् । 

उसो त यो शो एक्लै ल्याएको खण्डमा कि इन्टरटेन्मेन्ट विरुद्ध मुद्दा हाल्ने भनाई विशाल भण्डारीको कम्पनीको थियो । तर, कि ले पेलेरै भएपनि यो शो अगाडि बढाएको छ । 

कार्यक्रमको पहिलो भागमा नायक राजेश हमाल अतिथीको रुपमा पुगेका थिए । तर, सुमन कार्की, कैलाश कार्की लगायतको कमेडी हेर्ने बानी परेका दर्शकका लागि पहिलो शो नै निकै खल्लो देखियो । 

प्रतिक्रियामा दर्शकले राजेश हमाललाई देख्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् । तर, शोको बारेमा भने चर्को आलोचना गरेका छन् । 

विशाल भण्डारीको थर्ड आई प्रोडक्शनले अब ‘कमेडी च्याम्पियन ३’ सार्वजनिक गर्ने तयारी गरेको छ । यता, कि इन्टरटेन्मेन्टले भने विशालसँगको सहकार्य तोड्दै उही नाममा २.० भर्सन थपेर शो त ल्यायो, तर खल्लो । 

शोमा सहभागी अधिकांश कलाकार नयाँ छन् । प्रस्तुतिमा कुनै दम छैन । कमेडी कतिबेला आउँछ शो हेर्दा पत्तो हुदैन । दर्शक केही गतिलो कमेडी आउला र हाँस्नुपर्ला भनेर कुर्दा कुर्दै थाक्छन् तर कमेडी सुनिदैन । 

कि इन्टरटेनमेन्टले अब यो शोलाई कसरी अगाडि बढाउँछ त्यो हेर्न बाँकी छ । यसअघि पनि ‘मुन्द्रेको कमेडी क्लब’ शोमा कि इन्टरटेनमेन्टले यस्तै खेल खेलेको थियो ।