फिल्म हिट र फ्लपको कारण एउटा कलाकार मात्र हुन सक्दैनः स्वस्तिमा

नायिका स्वस्तिमा खड्काले कुनै पनि फिल्मको सफलता वा असफलताको जस एक जना कलाकारलाई मात्र दिन नमिल्ने बताएकी छिन् । भदौ १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एैँचो पैँचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमाले एउटा फिल्म सफल हुनका लागि धेरै व्यक्तिको हात हुने तर्क गरिन् । 

यो फिल्म चलेको खण्डमा स्वस्तिमाको स्टारडम देखिने समाचारहरु सार्वजनिक भैरहेका छन् । निरन्तर असफल फिल्मका कारण केही समस्यामा रहेकी स्वस्तिमाका लागि यो फिल्म चल्न आवश्यक पनि छ । तर, स्वस्तिमा भने सिंगो फिल्म आफ्नो काँधमा बोक्ने कुरालाई अस्विकार गर्छिन् ।

उनले भनिन्–‘मैले फिल्म नै काँधमा बोकेर हिँड्न सम्भव छैन । बोक्छु भनेर भन्न पनि मिल्दैन किनभने एक जनाले मात्रै केही बोक्ने पनि होइन, एक जना मान्छेले मात्र फिल्म चलाउँछु भनेर फिल्म राम्रो पनि बन्दैन । यसका लागि फिल्मको प्रि प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको  उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।’

स्वस्तिमाले भोलिको दिनमा यो फिल्म सफल भएको खण्डमा सबै क्रेडिट आफूले मात्र लिन नमिल्ने पनि तर्क गरिन् । अन्य कलाकारको भन्दा आफ्नो अनुहार बढी मिडियामा आएकाले पनि दर्शक र मिडियाकर्मीले यसो भनेको हुनसक्ने उनको तर्क छ । 

मिडियाले यसरी भार थपिदिदा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमाले भनिन्–‘दुई चार किलो थप्दा त ठिकै छ, किनकी यसले मेन्टेन पनि भैराख्छ ।’

राजनीतिक पृष्ठभूमिको कथामा घुमेको फिल्म ‘एैँचो पैँचो’मा स्वस्तिमाका केही संवादले उनको भूमिकामाथि दर्शकको उत्सुकता अझै बढेको छ । कोही व्यक्तिसँग प्रतिशोध राख्नकै लागि स्वस्तिमाले राजनीति सुरु गरेको ट्रेलरमा देखाइएको छ । कृषा चौलागाई निर्देशित यो फिल्मलाई लिएर फिल्म क्षेत्र पनि आशातीत छ ।