पूजाको ‘दान्भी’को क्लाइमेक्सको छायांकन सुरु

रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्म ‘दान्भी’को क्लाइमेक्सको छायांकन सुरु भएको छ । काठमाडौंको नैकापमा फिल्मको लागि सेट तयार पारिएको छ । सोही सेटमा फिल्मको क्लाइमेक्सको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ । 

फिल्मको सेटमा नायिका पूजा शर्माले एक्सन दृश्य दिइरहेकी छिन् । फिल्मको एक गीत र केही दृश्यको छायांकन पश्चात् केही समय काम रोकिएको थियो । क्लाइमेक्सका लागि तयारी गर्नुपरेकाले फिल्मको काम रोकिएको निर्माण पक्षले बताएको छ । 

पूजा शर्माले सामाजिक संजालमा एक तस्विर सार्वजनिक गर्दै फिल्मको काम सुरु भएको उल्लेख गरेकी छिन् । उनको हातमा डी अक्षरको ट्याटु देख्न सकिन्छ । 

फिल्मको क्लाइमेक्सलाई उत्कृष्ट बनाउनका लागि निर्माण पक्षले कुनै पनि कसर बाँकी राखेको छैन । फिल्मको क्लाइमेक्स छायांकन पश्चात् यसको टिम बाँकी छायांकनका लागि दार्जिलिङ जानेछ । फिल्ममा पूजा शर्माको साथमा नायक कुन्साङ बोमजमको पनि मुख्य भूमिका छ । पूजा र कुन्साङले पहिलो पटक पर्दा सेयर गर्न लागेका हुन् ।