किन भने प्रेम आलेले - 'गरिबको पक्षमा लड्दा लड्दा आफू त धनी भएको थाहै भएन' ?

आगामी भदै १४ बाट रिलिज हुने फिल्म 'ऐँचो पैँचो' को आज ट्रेलर सार्वजनिक गरियो । ट्रेलर रिलिज कार्यक्रममा यस फिल्मका मुख्य कलाकारहरू स्वाभावीकरुपमा स्वस्तिमा खड्का, मुकुन भुषाल, सुशील सिटौला, कोशिस क्षेत्री मुख्य आकर्षणका केन्द्र त थिए नै, योसँगै कार्यक्रममा प्रमुख अतिथि बनेका एककृत समाजवादीका नेता संघिय संसद् एवम् पूर्व पर्यटन तथा संस्कृति मन्त्री  प्रेमबहादुर आले पनि अर्को आकर्षणका केन्द्र बने ।

उनले राजनीतिक फिल्म भएकाले लेखनका समयमा आफूसँग सल्लाह गरेको भए अझ राम्रो हुने सम्मका प्रतिक्रिया समेत दिए ।

अलेलाई ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको एउटा संवादले निकै नै मन छोएछ । उनले मन परेको संवाद बोल्ने प्रयास गरे ।

उनले भने 'गरिबको पक्षमा लड्दा लड्दा आफू त धनी भएको थाहै भएन ।'

फिल्ममा 'राजनीति एउटा यस्तो पेसा हो नि जो गरिबकालागि लड्दा लड्दै धनी भएको थाहै हुँदैन' बोलिएको छ । यो संवाद विशाल पहारीले बेलेका थिए ।

प्रेम आलेले यो संवादलाई आफूले भोगेको राजनीतिक अनुभवसँग जोड्दै प्रशंसा गरे ।

उनले भने, 'मैले जहिले पनि भन्ने गरेको छु एभरी पोलीटिसिएन ह्याभ सटेन रेपुटेशन हुवीच दे ह्याभ टु प्रोटेक्ट बट नट अहिले यो जुन फिल्म निर्माण भएको छ यो फिल्ममा मैले के देखेको छु भन्दा यसमा सबैले मेहनत गर्नु भएको छ । यसमा मलाई पनि राखिदिनु भएको भए थोर थोरै आन्द्रा भुँडी म पनि अलिकता तथ्यमा आधारित भएर म भन्थे । तर जे जस्तो भए पनि यो ट्रेलर मैले पनि हेरे मलाई धेरै खुसी लागेको छ ।'

साथै उनले ट्रेलर हेरेपछि परिवार सहित फिल्म हेर्न आउने बाचा समेत गरे ।

कृषा चौलागाईंद्वारा निर्देशित फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रूपमा रहेका छन् ।