‘जय हो’ले काठमाडौँमा पोस्टर नटाँस्ने, बालेनको डर की साँच्चैको जिम्मेवारी महसुस ?

फिल्म ‘जय हो’को पोस्टर काठमाडौं महानगर क्षेत्रभित्र नटाँसिने भएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सुन्दर बनाउने अभियान साथ दिन आफूहरूले त्यसमा केही हिसाबले एउटा इट्टा झैं मद्दत पुगोस् भनेर यस्तो निर्णय गरेको ‘जय हो’का निर्माता शोभित बस्नेतले मेरो फिल्मलाई जानकारी दिए ।

निर्माता बस्नेतले भने, 'काठमाडौँ सफा राख्ने मेयर बालेनको जुन परिकल्पना छ त्यसलाई एउटा इट्टा भर्ने काम गरेका हौ । काठमाडौं महानगर बाहेकका अन्य  ठाउँहरूमा पोस्टर टाँस छौँ । '

बालेनले मात्र शहर सफा गरेका छन् भनेर अरु निकायलाई ठाडो औंल्याउन खोज्नु भएको हैन? भनेर प्रश्न गर्दा उनी भन्छन् - यदि अन्य सिटिहरुमा पनि कसैले पोस्टर टाँसेर प्रदूषण हुन्छ भन्नुहुन्छ भने त्यहाँ पनि हामी पोस्टर नटाँसन तयार छौँ ।

त्यसो त, यसअघि जथाभाबी पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै सरोज खनाल निर्देशित फिल्म ‘बगान’लाई काठमाडौं महानगरपालिकाले ५० हजार रूपैयाँ जरिवाना भराएको थियो । 

त्यस बेला महानगरपालिकाले ‘बगान’लाई गरेको कारबाहीको प्रचारले फिल्मको प्रचार प्रसारमा ठुलो मद्धत गरेको थियो । 

यस्तोमा 'जय हो'को घोषणा जिम्मेवारी महशुस हो या अनेक फण्डाका लागि चर्चित शोभितको बालेनको नाममा प्रचारको काइदा हो भन्ने प्रश्न छ।

किनकी शोभितले जिम्मेवारी नै महसुस गरेका हुन भने वातावरण संरक्षण त काठमाडौंको मात्र होइन पूरा देशको पनि आवश्यकता हो। यसमा चाहिँ शोभित किन चुके त ? यो आफैंमा एउटा विचारणीय प्रश्न हो यसमा दोहोरो शैली किन ?