नायिकाहरुलाई सोलो स्टारडम देखाउने अवसर

सुरुवातका दुई फिल्मबाट खासै चर्चा नपाएकी नायिका मलिका महतले शिर्ष भूमिकामा काम गरेको फिल्म ‘सतिदेवी’को डबिङ चलिरहेको छ ।

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको यो फिल्मको केन्द्रमा नै मलिका छिन् । फिल्म ‘यात्रा र पानी फोटो’मा स्टार कलाकारहरु भएका कारण पनि मलिकाले खासै चर्चा पाइनन् । तर, यो फिल्ममा भने उनका लागि ठूलो अवसर छ । यदि, यो फिल्म चल्यो भने मलिकाको सोलो स्टारडम चल्नेछ । म्युजिक भिडियोमा सुपरहिट भएकी मलिकाका लागि फिल्ममा पनि स्टार बन्ने अवसर लक्ष्मण सुवेदीले दिएका छन् । 

फिल्म ‘उपहार’ निर्माणको क्रममा छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल केन्द्रिय भूमिकामा छन् । तिन नायिकाको वरिपरी घुम्ने फिल्म चलेको खण्डमा नायिकाहरुलाई मात्र राखेर पनि फिल्म बनाउन सकिन्छ भन्ने पुष्टी हुनेछ ।

फिल्म ‘उपहार’मा तिनै स्टार नायिकाहरुलाई आफ्नो स्टारडम देखाउने अवसर मिलेको छ । 

छायांकनरत फिल्म ‘दान्भी’मा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । यो फिल्ममा नायक कुन्साङ बोमजम पनि छन् । तर, उनको यो डेब्यू फिल्म हो । यसैले, फिल्म चलेको खण्डमा कुन्साङलाई फाइदा त हुनेछ, तर क्रेडिट पूजाले लिनेछिन् । यो फिल्मको केही दृश्य र एउटा गीतको छायांकन सकिएको छ । अब, भोलीबाट फिल्मको क्लाइमेक्स खिच्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । फिल्म चलेको खण्डमा पूजाको स्टारडम अझै बलियो देखिनेछ । 

भदौको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘एैँचो पैँचो’ नायिका स्वस्तिमा खड्का र वर्षा राउतमाथि बढी केन्द्रित छ । फिल्ममा मुकुन भुषाल पनि छन् । तर, फिल्म चलेको खण्डमा नायिकाहरुलाई क्रेडिट बढी जानेछ । निरन्तर फ्लप फिल्म दिइरहेकी स्वस्तिमालाई यसपटक यो फिल्म चलाउनुपर्ने  जिम्मेवारी छ । फिल्म चलेको खण्डमा स्वस्तिमाको माग अझै बढ्नेछ भने मेकरले विश्वास पनि गर्नेछन् । 

नेपालमा नायिकाहरुमाथि विश्वास गरेर धेरै फिल्म बन्दैनन् । यसैले, फिल्म चलेको क्रेडिट पनि नायिकाहरुले धेरै पाउँदैनन् । तर, रिलिज हुन लागेका केही फिल्म भने नायिकाहरुमाथि बढी भर परेका छन् ।