‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छानियो
नवीन सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘गाउँ आएको बाटो’ प्रतिष्ठित टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको ४८ औं श्रृङ्खलामा यो फिल्मको प्रिमियर गरिनेछ ।
निर्माणपक्षले जारी गरेको विज्ञप्तीमा यो फिल्मले नेपाली फिल्मको विश्वमा दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियस्तर टेवा पुग्ने विश्वास समेत लिएको छ ।
सेप्टेम्बर ७ देखि सुरु हुने महोत्सवमा फिल्म छानिनु नेपाली फिल्म क्षेत्रका लागि खुशीको कुरा भएको भन्दै फिल्मीकर्मीले पनि खुशी व्यक्त गरेका छन् । यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई, राज थापा लगायतका कलाकारको अभिनय छ ।
यो फिल्मले गाउँमा सडक पुगेपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।
साथै, फिल्मले राई समुदायको सामाजिक पृष्ठभूमिको कथालाई समेत उठान गरेको छ ।
प्रतिक्रिया