सुरक्षा पन्त भन्छिन् - ‘फिल्म जुलेबीमा यौनकर्मी पात्रको रुपमा काम गर्दा धेरै मान्छेहरु मसँग झुक्किनु भएको छ'

अभिनेत्री सुरक्षा पन्त जीवन्त अभिनयका कारण चर्चित छिन् । उनी हरेक फिल्ममा फरक–फरक चरित्रमा अभिनय गर्न चाहने अभिनेत्रीमा पर्छिन् ।

अभिनयमा पृथक परिचय बनाएकी सुरक्षाले निर्वाह गरेका चरित्रले राम्रो प्रशंसासमेत पाउने गरेका छन् । भलै ती भूमिका निर्वाह गरेका फिल्म हिट हुन् या फ्लप । यिनै अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेको फिल्म ‘जुलेबी’आगामी हप्ता अर्थात भदौ १ गतेबाट प्रदर्शनमा आउँदैछ । 

यो फिल्ममा उनले महिला यौनकर्मीको भूमिका निर्बाह गरेकी छन् । सुरक्षाका अनुसार फिल्म रत्नपार्कको वरिपरी कथा घुम्ने र यस्तो कथामा धेरै फिल्म बन्दैनन् ।

उनी भन्छिन् ‘फिल्म जुलेबी हामी सबैको लागि विशेष फिल्म हो । फिल्मले जुन संवेदनशिलताको कथा बोकेको छ । त्यो संवेदनशिलता हामी सबैमा अझै पनि छ । हामीले फिल्ममा काम गर्दा एकदम कम बजेटमा काम गरेका छौं । अहिलेका फिल्म कम बजेटको एक्सपेरीमेन्ट जोनमा गइरहेको छ । जसको मज्जा मैले लिइरहेको छु ।’  

सुरक्षाले ‘जुलेबी’ निर्देशक गणेशदेव पाण्डेको तारिफ पनि गरेकी छन् । ‘उहाँ फिल्महरुको पारखी नै हो । कलाकारको हैसियतले पनि हामीले उहाँको फिल्म हेरिरहेकै हो । उहाँले भिन्न भिन्न कथा टिप्नु हुन्छ । जुन मलाई चाहिँ एकदमै मनपर्छ । यो फिल्मको कथाको लागि चाहिँ मलाई विश्वास गरिदिनु भएकोमा धन्यवाद । मलाई नै यो फिल्म हेर्न मन लागिरहेको छ दर्शकको रुपमा कस्तो भाइब्स आउँछ भनेर । यो खालको सोच र यस्तो कथामा धेरै फिल्म बन्दैनन् । यस फिल्मको लागि सुशील र म अनुसन्धान गर्दै धेरै पटक रत्नपार्क पुगेका छौ । त्यो बाहेक हामीले एक पात्रसँग सम्बन्धित कुनै व्यक्तिहरु छन् भने उहाँहरुसँग बसेर गफगाफ पनि गरेका छौं ।’ 

सुरक्षा भन्छिन्, ‘मैले आफैलाई फिल्मले भनेको पात्रमा ढाल्नु पर्ने भएको थियो । त्यसका लागि म त्यो पात्र नै भएर रत्नपार्क तिर हिँडडुल गरेको थिएँ । फिल्म छायाकंनको क्रममा संवेदनशिल क्षेत्र भएकाले धेरै नै होहल्ला न होस् भनेर सोच बुझ गरेर फिल्म खिचिएको हो । जसमा हाम्रो क्यामेरा कहाँ हुन्छ भनेर हामीलाई नै थाहा हुँदैन थियो । उहाँहरुले कता कता क्यामेरा राख्नु हुन्थ्यो । त्यस्तो स्थितिमा कुनै संकेत देखाए पछि अथवा फिल्मका सहयोगीहरुले नजिकै आएर यताउता भन्नु हुन्थ्यो, अनि मात्र हामी हिँडडुल गर्दथ्यौं । त्यस क्रममा धेरै मान्छेहरु मसँग झुक्किनु भएको छ । उहाँहरु यौनकर्मी नै हो भनेर चार पाँचजना व्यक्ति आउनु भएको छ । पात्रको लागि त्यसरी नै पहिरन लगाएर बसेको थिएँ ।’ 

सुरक्षा अगाडि भन्छिन्, ‘विशेष गरि हामी सबै जनालाई सम्मान गर्छौ । मेरो लागि त एउटा साथीको रुपामा पनि उहाँहरु आउनुहुन्छ । उहाँहरु तीनचार जना त भेटे पनि जसले यौनकर्मीको रुपमा काम गर्दै आउनुभएको छ । उहाँरु यति सहयोगी भावनाको हुनुहुन्थ्यो घरसम्मै खाना खान आउनु न समेत भनेर बोलाउनु हुन्थ्यो । आफ्नो छोराछोरीको बारेमा कुरा गर्नु हुन्थ्यो । कसैले त मेरा नानीहरु कसरी हुर्काउदै छु सम्म भन्नु हुन्थ्यो जसले मलाई भावुकसमेत बनायो ।’

सुरक्षाको बुझाईमा यौनकर्मीहरु एउटा सुन्दर लाग्ने व्यक्तिहरु हुन् । ‘हाम्रो समाजले हेर्ने दृष्टिकोण र त्यो कामप्रतिको तुच्छताले गर्दा हाम्रो सोच फरक भएको छ । उहाँहरुका आफ्नै कथाव्यथा छन् । तर आशा गरौं यस्तो अवस्था कसैलाई पनि नआइनलागोस् । हामी सबैले सोच्ने र विचार अथवा पहल गर्ने भनेकै त्यो खालको वातावरण नै नहोस् । जसले यो किसिमको काम गर्नु परोस् । तर बाध्यात्मक परिस्थितिले काम गरिरहनु भएको छ भन्दैमा महिलाको रूपमा चाहिँ जसरी एउटा अर्को कार्यमा लागेको व्यक्ति तुलना गछौं त्यसरी नै प्रतिक्रिया जनाउनु आवश्यक छ’, सुरक्षा भन्छिन्, ‘यसो भन्दैमा यो फिल्मले त्यस्तो खालको वकालत गरेको हैन । किनभने त्यो विचार यस्तो ग्रेजोनमा छ कि राष्ट्र नै स्पष्ट छैन कति कुरामा नीति खुलस्त आइसकेको छैन । उहाँहरुलाई खुल्ला रुपमा कुन स्थानमा राख्ने भन्ने बारे । यस्ता कुराहरु खुलस्त नै छैन भने हामी त फिल्म निर्मातामात्र हौं । हामीले त यसो एउटा विचार आयो त्यसमा एउटा पात्र उठायौं अनि मायाको जुलेबीको कुरा गरेका हौं ।’ 

उनका अनुसार फिल्मका मोनिका र तुफान तथा पुष्कर र उषाको हकमा पनि यही कुरा लागु हुन्छ । ‘फिल्ममा पुष्कर एउटा फोटोग्राफर छन्, । एउटीले जसले आफ्नो श्रीमान गुमाएकी हुन्छे जो अधवैसे छे । उनीहरुबीचको एउटा मन्द मायाको भाव हो’, सुरक्षा भन्छिन्, ‘अर्को पात्रको रुपमा समाजले पर्खाल बनाएको छ । केही चिजले गर्दा त्यो भन्न उहाँहरुलाई गाह्रो भएको छ । त्यो एउटा मायाको बार देखाइएको छ । मैले निर्वाह गरेको पात्र माया जसले यौनकर्म गरिरहेकी हुन्छे जसको जीवनमा एउटा यस्तो व्यक्ति आउँछ जसको आफ्नै जीवनमा धोका भइसकेको छ त्यही पनि उसले मन पराउँछ ।’

सुरक्षाका अनुसार निशा अधिकारी र समिर दीक्षितले निर्वाह गरेको पात्रमा पनि तिनीहरूसँग मुद्दा छ, त्यो मुद्दा सुल्झाउदै गर्दा सुशीलसँग भेट हुन्छ । ‘यौन सम्बन्धको बारेमा मात्र यो फिल्म होइन । यतातिर हामीले त्यती धेरै ध्यान दिन जरुरी छैन । यो एउटा सामान्य फिल्महो जसलाई तपाईंहरुले मनोरञ्जनको रुपमा लिनुहोस् । वकालत गर्न फिल्म बनाउने होइन् । कसैको कथाको भाव भन्न फिल्म बनाउने हो ।’